राष्ट्रपतिको कार्यकाल सकिएपछि पार्टी सदस्यता नविकरण गरेकी हुँ, खोसिएको छैन : भण्डारी

विराटनगर २ भदौ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको संगठित सदस्यता कायमै रहेको बताउनु दावी गर्नु भएको छ । राष्ट्रपतिको कार्यकाल सकिए लगत्तै औपचारिक रुपमा पार्टी सदस्यता नविकरण गरेको उहाँले बताउनुभयो ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उहाँले पार्टी संगठित सदस्यता कायमै रहेको बताउनुभयो ।

नेकपा एमालेको संगठित सदस्यको सपथ विराटनगरमै खाएको बताउँदै उहाँले संगठित सदस्य भएको ३५ वर्षमा राष्ट्रपतिको जिम्मेवारीमा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो ,‘ नेकपा एमालेको भएकै कारण राष्ट्रपतिको जिम्मेवारीमा पुगेकी हुँ ।’

पार्टी सदस्यताबारे कसैले विषय उठायो होला तर सदस्यता खोसिएको छैन उहाँले भन्नुभयो । पार्टीको केन्द्रको औचारिक जानकारी आफुलाई नभएको पनि उहाँले बताउनुभयो । संगठित सदस्यलाई पार्टीको सवै जानकारी थाहा नहुन पनि सक्ने उहाँको भनाई छ ।

राष्ट्रपति पद आवधिक भएको उहाँले बताउनुभयो । कार्यकाल सकेपछि पुन : जनता समक्ष नै आउनुपर्ने पूर्व राष्ट्रपति भण्डारीको भनाई छ ।