
विराटनगर १ भदौ । विराटनगरमा आज राधाकृष्ण रथयात्रा निकालिदैछ । विराटनगर १ स्थित राधाकृष्ण मन्दिरबाट रथयात्रा दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
आज ५८ औं संस्करणको रथयात्रा तीनपैनी, मेनरोड, ट्राफिक चोक, महेन्द्र चोक, रोड शेष चोक हुँदै बरगाछी भएर पुनः मन्दिरमा पुगेर सम्पन्न हुनेछ । नगर परिक्रमाका समयमा ४३ स्थानमा विश्राम लिने बताइएको छ ।
विक्रम संवत १९८८ मा विराटनगर महानगरपालिका–१ मा राधाकृष्ण मन्दिरको स्थापना भयो । मन्दिर स्थापना भएपछि कृष्ण जन्माष्टमीको भोलिपल्ट राधाकृष्ण रथयात्रा निकाल्न थालिएको इतिहास छ । विगतको रथलाई केही परिमार्जन गरेर यसपटक फरक शैलीमा निर्माण गरिएको छ ।
पेगोडा शैलीको रथको लम्बाइ १९ फिट, चौडाइ १४ र उचाइ १८ फिट छ । विराटनगरका केही व्यक्तिहरूले विक्रम संवत १९८८ सालदेखि ‘खटयात्रा’ रूपमा शोभायात्रा सुरू गरेको इतिहास रहेको रेग्मीले बताए ।
२०२२ सालदेखि बायलगाडामा निकालिन थालियो । २०२५ सालमा विराटनगरका भूपालमानसिंह कार्की र सत्यनारायण धनावतले रथ निर्माण गरेपछि यो रथयात्राको सुरुवात भएको बताइएको छ ।
रथयात्रा सुरु हुनुअघि करिब १ किलोमिटरसम्म विभिन्न किसिमका झाँकी, जातजातिका नृत्य, भजन मण्डलीलगायत रहने छन् । रथयात्राका क्रममा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिने छ ।
रथले नगरको ९ किलोमिटर यात्रा तय गर्ने छ । रथयात्राका लागि कोशी प्रदेश सरकारले झापा मोरङ र सुनसरी जिल्लामा विदा दिएको छ ।