
विराटनगर १ भदौ । विराटनगरमा आज आइतबार निकालिने ऐतिहासिक राधाकृष्ण रथयात्राको अवसरमा महानगरपालिकाका मेयर नागेश कोइरालाले शुभकामना व्यक्त गरेका छन् ।
एसियाकै दोस्रो ठूलो भनिने यस रथयात्रालाई भव्य, सभ्य र मर्यादित रूपमा सम्पन्न गर्न उनले सम्पूर्ण भक्तजनलाई आह्वान गरेका छन् । नेपालको बहुल भाषा, धर्म र संस्कृतिको प्रतिनिधित्व गर्ने विराटनगरजस्तो सहरमा विविधताभित्रको एकता झल्काउने खालका सांस्कृतिक कार्यक्रमहरू आवश्यक रहेको उल्लेख गर्दै मेयर कोइरालाले रथयात्राले आपसी सद्भाव र सहिष्णुता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे ।
उनका अनुसार यसपटक रथयात्राको तयारीलाई थप व्यवस्थित बनाउन महानगरपालिकाले झन्डै ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यस बजेटमार्फत नयाँ र आकर्षक रथ निर्माण गरिएको छ । जसले भक्तजनको ध्यान आकर्षण र केन्द्रित गर्न सहयोग पुर्याउने विश्वास मेयर कोइरालाले व्यक्त गरे ।
‘विराटनगरको प्रतिष्ठासँग जोडिएको रथयात्रालाई भव्य र सभ्य बनाउन हामी सबैको कर्तव्य हो,’ मेयर कोइरालाले भने, ‘महानगरको तर्फबाट आयोजक समितिले आवश्यक ठानेका सबै किसिमका सहयोगहरू प्रदान गरिएको छ ।’
रथयात्राका अवसरमा सहभागी भक्तजनलाई मर्यादित र सुरक्षित रूपमा सहभागी हुन विशेष आग्रह पनि गरिएको छ । भीडको चाप हुने भएकाले महँगा गरगहना नलगाउन, व्यक्तिगत सामानको सुरक्षा गर्न, ज्येष्ठ नागरिक र बालबालिकाको विशेष ख्याल राख्न र सौन्दर्यकरण अभियानअन्तर्गत रोपिएका फूल तथा विरुवा संरक्षणमा समेत ध्यान दिन मेयर कोइरालाले अनुरोध गरेका छन् ।
उनले ५७ औं संस्करणको रथयात्राले विराटनगरलाई सफा, सुन्दर, हरियाली, विकसित र व्यवस्थित महानगर बनाउने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना पनि व्यक्त गरे । ५७ औं संस्करणको रथ आज दिउँसो ३ बजे विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरबाट निकालिँदैछ ।