गुरुङको अध्यक्षतामा बीआरसीसीको नयाँ नेतृत्व

दमक ३१ साउन । जैविक विविधताको अध्ययन,अनुसन्धान,संरक्षण तथा कल्याणकारी कार्य गर्ने उद्देश्यका साथ स्थापना भएको जैविक अनुसन्धान तथा संरक्षण केन्द्र (बीआरसीसी)को प्रथम साधारण सभाले नयाँ कार्य समिति चयन गरेको छ ।

शनिवार दमकमा बसेको साधारण सभाले जीवनकुमार गुरुङको अध्यक्षतामा आगामी कार्यकालका लागि नयाँ कार्य समिति चयन गरेको हो । कार्य समितिको उपाध्यक्षमा जसहाङ लिम्बू, सचिवमा दीपक राजवंशी र कोषाध्यक्षमा इशा राईलाई सर्वसम्मतले निर्वाचित गरेको छ ।

सदस्यहरुमा रामचन्द्र अधिकारी, शोभा बस्नेत र ममता गुरुङ निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष गुरुङले जानकारी दिए । यस गैर सरकारी संस्थामा जीव विज्ञानको क्षेत्रमा अनुसन्धानरत वैज्ञानिकहरु आवद्ध रहेको संस्थाले जनाएको छ ।

दमक क्याम्पसमा आयोजना गरिएको साधारण सभालाई प्रमुख अतिथिको भूमिकाबाट सम्बोधन गर्दै दमक बहुमुखी क्याम्पसका प्रध्यापक डा.अरुणकुमार श्रेष्ठले नेपाल जैविक विविधताको अनुसन्धानका लागि अति उर्वर स्थान भएकोले यस क्षेत्रलाई केन्द्रित गरी संस्था सञ्चालन भएकोमा खुशी व्यक्त गरे ।

त्यस्तै विशिष्ट अतिथि सामाजिक तथा साँस्कृतिक अध्ययन केन्द्रका अध्यक्ष मच्छिन्द्र याख्खाले जैविक विविधताको अनुसन्धानबाट समाज राष्ट्रको पहिचान दिने मात्र नभई नयाँ प्रजातिहरुसमेत पत्ता लगाउन सकिने बताए ।

सो साधारणसभामा प्रस्तुत साङ्गठनिक तथा आर्थिक प्रतिवेदनहरु सर्वसहमतिले पारित गरिएको थियो ।