महाधिवेशन समयमा नै सम्पन्न गर्न नेतृत्वलाई दबाव दिनुपर्छ : नेता कोइराला

विराटनगर ३१ साउन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीको आगामी महाधिवेशन समयमा नै सम्पन्न गर्न नेतृत्वलाई दबाव दिनुपर्ने बताउनु भएको छ ।

कांग्रेस जिल्ला कार्यसमितिले सोलुखुम्वुले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कोइरालाले कांग्रेसको महाधिवेशन समयमा नै हुन नसके पार्टी कमजोर हुने र पार्टी कमजोर भए लोकतन्त्र नै कमजोर हुने भएकाले समयमा नै आगामी महाधिवेशन आयोजना गर्न पार्टी सभापति शेर बहादुर देउवालाई दवाव दिनुपर्ने बताउनुभयो ।

२०८४ पछि मात्रै पार्टीको महाधिवेशन गर्ने कुरा सुनिन थालेको भन्दै कोइरालाले त्यस्तो भए कांग्रेसको भविष्यमाथि नै प्रश्न उठ्न सक्ने जिकिर गर्नुभयो । उहाँले कांग्रेसभित्रको गुटका कारण अनुशासन समिति पनि गुटमा बिभाजन हुन पुगेको बताउनुभयो ।

पार्टीमा देखिएको बेतिथि अन्त्यका साथै एकढिक्का बनाएर अघि बढाउन पनि १५ औँ महाधिवेशन समयमै हुन जरुरी रहेको उहाँको भनाइ छ ।

कोइरालाले ठूला दल मिलेर सरकार बनेपनि भ्रष्टाचार, दण्डहिनता बढ्दै गएको टिप्पणी गर्नुभयोे । निजामती विधेयकको कुलिङ अफ पिरियडमा छेडखानी गर्ने काम एमालेबाटै भएको भन्ने कुरा लुकाउनुपर्ने उहाँले बताउनुभयो । उहाँले खाली जग्गा हडप्ने उदेश्यका साथ एमालले भूमि सम्बन्धी विधेयक ल्याउन लागेको आरोप लगाउनुभयो ।

कोइरालाले भूमि सम्बन्धी विधेययकमा कांग्रेसका सांसदहरूले संशोधन प्रस्ताव हाल्दा भूमिमन्त्रीले स्वीकार नगरेको जिकिर गर्नुभयो । उहाँले कांग्रेस र एमालेबीच भएको सहमति अनुसार सरकार चल्न नसकेको टिप्पणी गर्नुभयो ।