
विराटनगर, २६ साउन । कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा मानव बन्यजन्तु द्वन्द्व बड्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न कोशी प्रदेश सरकारले विभिन्न कार्यक्रहरु अघि सारेको छ ।
प्रदेश भित्र बड्दै गएको मानव बन्यजन्तु द्वन्द्व न्युनीकरणका लागि प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि झण्डै चार करोड हाराहारीका कार्यक्रमहरु अघि सारेको हो ।
कार्यक्रमहरुमा बन्यजन्तु व्यवस्थापन, उद्धार र मानव बन्यजन्तु द्वन्द्व न्यूनीकरण, हात्ति गस्ती, बन्यजन्तुबाट हुने क्षतिको राहत वितरण, बन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तारजाली, सोलार फेन्सिङ निर्माण अर्थात हात्ति प्रभावित क्षेत्रका वस्तिमा विद्युतीय तारको जडान, बालि बिमा कार्यक्रम, सडकमा सौर्य वत्ति जडान जस्ता कार्यक्रमहरु रहेको कोशी प्रदेशको, पर्यटन वन तथा वातावरण मन्त्रालयका योजना महाशाखा प्रमुख विनिता सुवेदीले बताउनुभयो ।
पछिल्लो समयमा विभिन्न कारणले मानव बन्यजन्तु द्वन्द्व बढ्दै गएको कुरा कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयका अधिकारीहरुनै स्वीकार गर्छन् । मानव बन्यजन्तु बीचको द्वन्द्व ठाउँ अनुसार फरक फरक किसिमका रहेको र त्यसको कारण पनि फरक फरक रहेको विज्ञहरु बताउँछन् ।
कोशी प्रदेशको तराईका जिल्लाहरु झापा, मोरङ, सुनसरी र उदयपुरमा प्रमुख रुपमा हात्ती र मानव बीचको द्वन्द्व रहेको देखिन्छ भने केही ठाउँमा बाँदरसँग द्वन्द्व पनि विस्तारै देखा पर्न थालेको छ । पहाडी क्षेत्रहरुमा प्रमुख रुपमा बाँदर, भालु र चितुवासँग द्वन्द्व देखिएको कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयका वन अधिकृत दीपक पोखरेलले बताउनुभयो । वन अधिकृत पोखरेलका अनुसार पहाडी जिल्ला ओखलढुङ्गामा चितुवा र सोलुमा भालु र चितुवा तथा अन्य जिल्लाहरुमा बाँदरसँग द्वन्द्व बढ्दो रहेको छ ।
हात्ती कोरिडोर अर्थात हात्तिको वासस्थान र चरन क्षेत्रमा मनव अतिक्रमण बढेको, मानिसहरुले हात्तीलाई दुःख दिन थालेका कारण कोशी प्रदेशको झापा देखि उदयपुर सम्मको जिल्लाहरुमा मानव समुदाय र हात्ती बीचको द्वन्द्व बढ्दै गएको स्नातककोत्तर क्याम्पस विराटनगरका प्राणाी शास्त्रका उपप्रध्यापक रामचन्द्र अधिकारी बताउनु हुन्छ ।
विशेष गरेर भारतको आसामबाट आउने हात्तीको समुह झापाको बाहुनडाँगीबाट मोरङ सुनसरीको उत्तरी क्षेत्र भएर कोशी टप्पु हुँदै पर्शा राष्ट्रिय निकुञ्जसम्म पुग्ने गरेको पूर्वाञ्चल विश्वविद्यालय वन विज्ञान क्याम्पस गोठगाँउका उपप्रध्यापक मोहीनाथ योगी बताउनु हुन्छ । तर अहिले हात्ती कोरिडोरको रुपमा रहेको त्यही क्षेत्रमा ठूल ठूला मानव वस्ति रहेका छन् । भानव हात्ती बीचको द्वन्द्व पनि त्यही ठाउमा बढी देखिदै आएको छ ।
पहाडी क्षेत्रमा पछिल्लो समय बढ्दो बसाई सराइका कारण जङ्गलको क्षेत्र विस्तार भएसँगै बाँदरको संख्या पनि बृद्धि भएको तर जङ्गलमा बाँदरका लागि पर्याप्त खानेकुरा नहुँदा आफ्नो खानेकुरा खोज्दै बाँदर मानव वस्तिसम्म पुगेको उपप्रध्यापक अधिकारीको भनाई छ ।
बाँदरलाई मनपर्ने खानेकुरा मानिसहरुले खेतबारी लगाउने र त्यस्ता खेतबारीमा थोरै समयमा पर्याप्त खानेकुरा खाना पाउन थालेपछि बाँदरहरु मानव वस्ति नजिक पुग्दा दुइ पक्ष बीचको द्वन्द्व बढ्दै गएको उपप्राध्यापक अधिकारीको भनाइ छ । अहिले बाँदर गतिविधिले आतङ्क मच्चाउन थालेपछि मानिसहरु आफ्नो खेतबारी छाडेर बसाइ सराई गर्न थालेका छन् । त्यही अवस्था दुम्सी र बँदेल जस्ता वन्यजन्तुमा पनि लागु हुने उहाँको तर्क छ ।
पछिल्लो समयमा बाघ, भालु र चितुवाको सङ्ख्यमा उल्लेखनीय बृद्धि भएको छ । तर बाघ, भालु र चितुवाको अनुपातमा उसको आहारको रुपमा रहेको मृग, हरिण र निलगाइको सङ्ख्यामा बृद्धि नहुदा बाघ, चितुवा र भालु पनि आफ्नो आहारको खोजीमा मावन वस्ति भएर तिरै घरपालुवा जनावरको सिकार गर्न जाँदा मानिससँगको द्वन्द्ध बढेको विज्ञहरु बताउँछन् ।
पछिल्लो समयमा बढ्दो भौतिक विकास र मानव गतिविधिका कारण बन्यजन्तुहरुको वास स्थान नष्ट हुँदा बन्यजन्तुहरु मानव वस्तिमा पुग्दा द्वन्द्व बढ्न गएको पूर्वाञ्चल विश्व विद्यालय वन विज्ञान क्याम्पसका उपप्राध्यापक योगीको भनाइ छ ।