
विराटनगर १९ साउन । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले कोशी प्रदेशबाट सवैभन्दा बढी कफी निर्यात गर्ने गरि सरकारले काम गरिरहेको बताउनु भएको छ । अन्य प्रदेशको तुलनामा कोशी प्रदेशले सवै भन्दा बढी कफी निर्यात गर्ने उहाँको दावी छ ।
सोमबार मोरङ चेम्वर अफ कमर्सको छैठौं बार्षिक साधारणसभा तथा तेश्रो अधिवेशन उद्घाटन कार्यक्रममा मन्त्री मगरले सो कुरा बताउनु भएको हो । उहाँले कोशी प्रदेशमा अपेक्षित रुपमा उद्योग फस्टाउन नसकेको प्रति चिन्ता व्यक्त गर्नुभयो ।
औद्योगिक शहरको पहिचान बनाएको विराटनगर अहिले पछि परेको मन्त्री मगरले बताउनुभयो । मन्त्री मगरले भन्नुभयो,‘ प्रदेशको राजधानी विराटनगर नभएको भए अवस्था झन विग्रने रहेछ जस्तो लाग्छ ।’ राजनीतिक स्थायीत्व नहुँदा सरकारले अघि सारेका नीतिहरु पनि परिवर्तन भईरहने उहाँले बताउनुभयो ।
नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले कोभिड १९ र रुस–युक्रेन युद्धका कारण विश्वव्यापी रुपमा परेको असर र संकुचित मौद्रिक नीतिका कारण समग्र अर्थतन्त्रमा नकारात्मक असर पारेको बताउनुभयो ।
नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बजारको माग डरलाग्दो तरिकाले घटेको बताउनुभयो । उद्योगको उत्पादन पनि ५०–६० प्रतिशत मात्रै हुने गरेको उहाँले बताउनुभयो । सरकारले पुँजीगत खर्च गर्न नसकेको अध्यक्ष राउतको भनाई छ । उहाँले भन्नुभयो,‘सरकारले ६२ प्रतिशत मात्रै पुँजीगत खर्च गर्नु दुःखत हो ।’ अध्यक्ष राउतले कोशी प्रदेशमा कृषिको सम्भावना भएकाले राज्यले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सरकारको नीति परिवर्तन आवस्यक रहेकोमा जोड दिनुभयो । उहाँले नेपाली बजारको प्रबद्र्धन हुनेगरिको सरकारको नीति हुनुपर्ने बताउनुभयो ।
बार्षिक साधारणसभा कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका बरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा लगायतले नेपाली उद्योगको विकासका लागि राज्यले प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा श्रीराम आयलका प्रदिप मुरारका, न्युरो अस्पताल विराटनगरका डा. वीरेन्द्र विष्ट, पल्स फेसन सुनसरी खनारका निमेष प्रधान, क्वालिटी रिफाईनरी उद्योगका घनश्याम कावरा, नोबेल मेडिकल कलेज विराटनगरका लोकनाथ न्यौपानेलाई सम्मान गरिएको थियो ।