कोशी प्रदेश खानेपानी तथा सरसफाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित

विराटनगर १७ साउन । कोशी प्रदेश सभाको आजको बैठकमा ‘ कोशी प्रदेश खानेपानी तथा सरसफाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ सर्वसम्मतले पारित भएको छ ।

कोशी प्रदेश सरकारका खानेपानी, सिँचाई तथा उर्जा मन्त्री एकराज कार्कीले सो विधेयक पारित गरियोस भनी प्रस्ताव गर्नुभएपछि सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले पारित भएको हो । मन्त्री कार्कीले कोशी प्रदेशमा अहिले पनि १२३ वटा खानेपानी आयोजनाहरु रुग्ण रहेको जानकारी दिँदै बजेटको अभाव रहेपनि प्रदेश सरकारले झापाको भद्रपुर नगरपालिका वडा नं २ स्थित र विराटनगर महानगरपालिका वडा नं १४ स्थितका खानेपानी आयोजना सङ्खीय सरकारबाट हस्तान्तर भइ प्रदेशको मातहत आइसकेको जानकारी दिनुभयो । यी दुबै आयोजना चार लाख ५० हजार लिटर पानी अट्ने क्षमताका हुन । उहाँले अहिले पनि कोशी प्रदेशमा ३४ दशमलव सात प्रतिशत जनतालाई मात्र सुरक्षित खानेपानीको प्रबन्ध रहेको बताउँदै यो विधेयकले सबै नागरिकलाई सुरक्षित खानेपानीको प्रबन्ध मिलाउन सहज हुने कुरामा जोड दिनुभयो ।

मन्त्री कार्कीले संविधानप्रदत अधिकार तथा नागरिकको सम्मानका निम्ति पिछडिएका जाति र समुदायलाई सर्वसुलभ ढङ्गले खानेपानीको व्यवस्था मिलाउन सरकार तत्पर छ भन्नुभयो । शून्य समयमा कोशी प्रदेश सभाका सदस्य मीना श्रेष्ठ, रमेशकुमार बस्नेत, तिलचन पाठक, खगेश्वरी पौडेल र शोभा चेम्जोङले नागरिकको समस्याका बारेमा बोल्नु भएको थियो ।

अर्काे बैठक साउन २२ गते बिहीबार दिउँसो १ बजे बस्नेछ ।