विराटनगर, ९ साउन । प्रदेश १ मा कोभिड १९ विरुद्धको कोभिशिल्ड खोपको ११ हजार मात्रा खेर गएको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, विराटनगरमा मौज्दात रहेको कोभिशिल्डको ११ हजार मात्रा खेर गएको हो ।
प्रदेश १ आपूर्ति व्यवस्थापन केन्द्रलाई असार अन्तिममा खोप आएकाले प्रयोग हुन नसकेको हो । केन्द्रका प्रमुख शम्भु साहले छोटो अवधिको खोप भएकाले प्रयोग हुन नसकेको बताउनुभयो । ‘प्रदेश १ का कुनै जिल्लाबाट पनि माग आएन । खोपको म्याद सकिन पनि १५ दिन बाँकी थियो। त्यसैले ठूलो मात्रामा कोरोनाविरुद्धको खोप खेर गएको हो,’ उहाँले भन्नुभयो । जिल्लाहरूले खोप खपत नहुने भन्दै माग नगरेपछि खोप केन्द्रमै रहेको उहाँले बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार अन्तिममा प्रदेश १ का लागि १२ हजार डोज कोभिशिल्ड पठाएको थियो।
एक हजार डोज मोरङमा प्रयोग भएको केन्द्रका प्रमुख साहले बताउनुभयो । यसअघि पनि खोप प्रयोग हुन नसक्दा अष्ट्राजेनेकाको ५० हजार मात्रा खेर गएको थियो। यसरी हेर्दा प्रदेश १ मा ६१ हजार मात्रा कोरोनाविरुद्धको खोप खेर गएको पाइन्छ । प्रदेश १ मा ७९ प्रतिशतले कोभिड १९ विरुद्धको पूर्णमात्रा खोप लगाएका छन ।
४९ लाख ८२ हजार २४९ लक्षित जनसंख्या मध्ये ७९ प्रतिशतले खोप लगाएको आपूर्ति व्यवस्थापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार १२ वर्षमाथिका ८१ प्रतिशतले पहिलो मात्रा, ७९ प्रतिशतले दोस्रो र पाँच प्रतिशतले बुस्टर खोप लगाएका छन ।