गरिबी न्यूनिकरण तथा देशको आर्थिक विकाशमा बीमाको महत्व

“हेर आकासमा…,
आँधी तुफान मडारिँई रहेको छ ।
तर यदि…,
तिमीले बीमा गरेका छौ भने१
…ईश्वरलाई पुकारिराख्नु पर्दैन ।”

झट्ट सुन्दा सामान्य लाग्ने, जर्मन कवि तथा प्रेरकबक्ता ब्रेटोल्ट ब्रिचको यो भनाईले निश्चितताको महत्वपूर्ण पाटोको रुपमा बीमालाई बुझाउन खोजेको छ । प्रविधिको विकाससँगै ग्लोबल भिलेजको रुपमा एक विश्वुको अवधारणा बढ्दोछ ।

यद्यपि, कोठाहरूलाई पर्खालले, जिल्लालाई सहरले र देशलाई जिल्लाहरूले सिमाना कोरेर छुट्टाए झैँ, भुगोलको सीमानाहरूले विश्वलाई देशहरूमा बाँढेकै छ । विश्वको एउटा तप्का आधुनिकता र सम्पन्नताको भव्यतामा मस्त रहँदा विश्वको अर्को तर ठूलो तप्का भने गरिबीको चपेटामा नराम्ररी पिल्सिएको छ । अधिकांश देशको टाउको दुखाई बनेको यो विषयलाई न्यूनिकरण गर्न के कस्ता साधन र माध्यमहरू प्रयोग गर्ने भन्नेमा विविधता भए पनि यसका लागि एउटा असाध्यैभरपर्दो र गतिशिलमाध्यम भनेको बीमा क्षेत्र नै हो भन्नेमा द्वीविधा छैन । यसैे सन्दर्भमा गरिबीको न्यूनिकरण र देशको आर्थिक विकासका महत्वपूर्ण पक्षहरू पहिल्याउँदै बीमा क्षेत्रको महत्व र भूमिकाका विषयमा विस्तृतमा प्रकास पार्नु सान्दर्भिक हुन्छ ।

नेपाली बृहद् शब्दकोषमा“धन केही नभएको, निर्धन, निर्धो, दरिद्र कंगाल हुनुको अवस्था”लाई गरिबी भनेर परिभाषित गरिएको छ । त्यस्तै “थोरै पार्ने वा कम गर्ने प्रकृया”लाई न्यूनिकरण भनेर परिभाषित गरिएको छ । धनसम्पत्ति तथा यसको आर्जन, उत्पादन, विभाजन, वितरण आदिसँग सम्बन्ध राख्ने समग्रव्यवस्थापनका विषय आर्थिक विकासका पक्षहरू हुन् भने, बीमादुई पक्षीय करार हो जसमा एउटा पक्षले केही शुल्क लिएर अर्को पक्षमा भएको अनिश्चितताको जोखिम बहनको प्रतिवद्धता जाहेर गरेको हुन्छ ।देशको गरिबी न्यूनिकरण र देशको आर्थिक विकासका लागि सबैभन्दा भरपर्दो, वैज्ञानिक र आधुनिक माध्यमका रुपमा बीमाको क्षेत्र परिचित छ ।

अनिश्चितताको जोखिमबहनसँगै अर्थतन्त्रको स्थायित्वकरण, दीगो विकास र आर्थिक सुरक्षाका प्रत्याभूति जस्ता गरिबीन्यूनिकरणका मापकहरूमा बीमा क्षेत्रको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको सन्दर्भमा यसका मूलभूत पक्षहरूलाई केलाउँदा यी दुई पक्षहरूमा विशेष केन्द्रीत हुनु बाञ्छनिय हुन्छ ।

गरिबी न्यूनिकरणमा बीमाः गरिबी न्यूनिकरणको यात्रा भनेको विकासतर्फको यात्रा पनि हो जुन भौतिक निर्माण, योजना र ठूलाठूला परियोजनाको सञ्चालनसँग जोडिएर आउँछ । यी परियोजनाहरुको सुरक्षाको प्रत्याभूति गरी देशलाई विकासको यात्रामा आड भरोसा दिने काम बीमाले गर्दछ ।

गतिशिल आर्थिक व्यवस्था र यसले श्रृजना गर्ने अवसरगरिबी निवारणको दरिलो कडी हो । पछिल्लो समयमा लघु बीमाका माध्यमबाट घर आँगनसम्म पुग्ने, एउटा कुखुरा एउटा बाख्राको पनि बीमा गर्ने जस्ता नीतिहरू र बीमा शुल्कमा गरिएको अनुदानको व्यवस्थाले बीमा पक्कै पनि वास्तविक लक्षित वर्गसम्म पुग्ने र उनीहरूलाई सुरक्षा सहित समुन्नतिको यात्रामा डोर्याउने कडीका रुपमा स्थापित हुने क्रममा छ । आ.व. २०८०।८१को तथ्यांकले बीमाको दायरामा आएका नागरिकको प्रतिशत ४४.३८ प्रतिशत रहेको देखाएको छ, जुन निरन्तर बृद्धि हुने क्रममा छ ।

गरिबी न्यूनिकरणका कुरा गर्दै गर्दा, समतामूलक समाजका लागि पनि बीमा महत्वपूर्ण पक्षको भन्ने कुरा छुटाउन सान्दर्भिक नहोला । व्यक्तिको जीवनको मुल्य कति हो त? जीवनको मुल्य हुँदैन भनिन्छ । पैसामा अव्यक्त यो मुल्यको विषयमा, व्यक्तिको प्रब्याज भुक्तानीको क्षमतालाई निजको मुल्य भन्ने प्रचलन पनि आइसकेको अवस्थामा आयका आधारमा आआफ्नो क्षमता अनुरुप बीमाबाट लाभ लिन सक्ने अवस्था छ । आधुनिक समाजमा बीमालाई जीवनपद्धतिसँग जोडेर हेर्ने गरिन्छ । शरिरका अंग, कलाकारिता देखि जुनसुकै सम्पत्ति र दायित्वका कुराहरू बीमा कम्पनीमार्फत नै जोखिम हस्तान्तरण गरिएका हुन्छन् ।

दैवी प्रकोप, महामारी, हुलदंगा, आतंकवादजस्ता विपद्हरूले समाजमा विभिन्न किसिमका जोखिमहरू देखापर्छन । तर बीमाले यस्ता जोखिमहरूविरुद्ध संरक्षण प्रदान गरेर सामाजिक मुल्य मान्यतामा बृद्धि गराउँछ ।

बीमाको महत्वपूर्ण पक्ष व्यक्ति/परिवारको जीवनस्तरमा सुधार ल्याउनु पनि हो । न्यून आयवर्गका नागरिकहरूको स्वास्थ्य, पेशा व्यवसायको सुरक्षा, सम्पति र जीवनको जोखिमबहनजस्ता कुराहरू आज सबैभन्दा प्राथमिकताका विषयहरुहुन ।परिवारभित्रको बीमायोग्य जोखिमको व्यवस्थापनमा बीमाको प्रयोगले सिङ्गो परिवारको स्तर र अवस्थामा उल्लेख्य सुधार ल्याउँछ । समाजमा रहेको असिमित डर र चिन्तालाई कम गर्नु पनि बीमाको महत्वपूर्ण पक्ष हो ।

घरमुलीले गरेको बीमाले आश्रितहरूलाई संरक्षण मिल्ने हुँदा डर चिन्तामा कमी भई ढुक्कले बाँच्ने आधार बन्दछ । त्यस्तै बिमितको जोखिम बीमा कम्पनीहरूले बहन गर्ने र जोखिम बहनका लागि संस्थागत रुपमै सक्रियता रहने हुुँदा कम्पनीले गर्ने जनचेतनामूलक तथा सुरक्षाका उपायहरूले गर्दा समाजमा क्षतिको रोकथाम हुन जान्छ । त्यस्तै हाम्रो देशमा फरक अभ्यास रहे पनि स्वास्थ्य बीमा कार्यक्रमहरूको माध्यमबाट बीमा कम्पनीहरूले प्रत्यक्ष, परोक्ष नागरिकको दुःख कष्टमा दरिलो भरोसा दिइरहेका हुन्छन् । अझ यसलाई बीमा कम्पनीहरूले सामाजिक उत्तरदायित्व पनि निर्वाह गरिरहेका छन् भन्दा फरक पर्दैन ।

गरिबी निवारणकै सन्दर्भमा कुरा गर्दा लक्षित वर्गको व्यक्तिगत/पारिवारिक संरक्षण र उन्नयनमा पनि बीमाको महत्वपूर्ण भूमिका रहेको छ । यो पारिवारिक प्रतिष्ठाको विषयका रुपमा पनि परिवर्तित हुँदै गएको छ । बीमा गर्ने परिवारको आर्थिक संरक्षणको आधार निश्चित हुने भएकाले समाजमा त्यस्ता परिवारको प्रतिष्ठामा बृद्धि हुन्छ । बीमा गर्नाले जस्तोसुकै कठिन परिवेशमा पनि परिवारका सदस्यको शिक्षा, स्वास्थ्य उपचारमा असर पर्दैन । विवाह, ब्रतबन्धजस्ता सामाजिक रीतिरिवाजका लागि भविश्यको आर्थिक जोहो गर्ने विकल्पका रुपमा पनि बीमा गर्ने चलन प्रयोग बढ्दो छ ।

व्यक्तिगत र पारिवारिक जोखिमवहन र पूँजी निर्माणका दृष्टिले पनि बीमाको महत्वपूर्ण भुमिका रहेको छ । जस्तो जीवन बीमाले व्यक्तिको जोखिमबहन गर्ने र आश्रितलाई आड भरोसा दिने गर्दछ । व्यक्ति र परिवारले बीमाका लागि गरेको लगानी फायदाजनक लगानी हो । बीमा गर्नु भनेको मितब्ययी हुनु पनि हो । बीमाको आधारभूत पक्ष जोखिम हस्तान्तरण हो । यो एउटा संख्याको खेल (Volume Game) पनि हो । समाजका धेरै मानिसहरूबाट संकलन भएको शुल्क दुःख पाएका केहीको राहतमा प्रयोग गर्नु समतामूलक राज्यको परिकल्पना हो ।

आर्थिक विकास, स्थीरता र आर्थिक बृद्धिका लागि बीमा : देशको आर्थिक विकासमा बीमाको महत्वपूर्ण भूमिका हुन्छ । हाम्रो देशको सन्दर्भमा अघिल्लो आ.व. २०८०।८१ कै तथ्यांक हेर्ने हो भने बिमा कम्पनीहरूले संकलन गरेको बिमाशुल्क १ खर्व८२ अर्व ९१ करोड छ । त्यस्तै ६ खर्व २८ अर्व ९५ करोड पूर्वाधार निर्माण र अर्थतन्त्रको गतिशिलतामा लगानी भएको छ । अर्थतन्त्रमा बीमा क्षेत्रको योगदानको कुरा गर्ने हो भने गत वर्षको कूल गार्हास्थ उत्पादनमा बीमा क्षेत्रको योगदान३.४० प्रतिशत रहेको छ ।

भविष्यको जोखिमलाई बहन गरेर लगानीका लागि विश्वासको वातावरण तयार गर्ने देखि, सम्भावित हानि/नोक्सानी चोरी र ठूलाठूला प्राकृतिक विपत्तिमा बीमाले सुरक्षण र आर्थिक संरक्षण गर्दछ । रोजगारी श्रृजना, जीवनस्तर सुधारजस्ता कुराहरूबीमा क्षेत्रको महत्वपूर्ण विशेषताका क्षेत्रहरू हुन् ।

बीमा क्षेत्रमा आ.व. २०८०।८१मा प्रत्यक्ष रोजगार २ लाख ९० हजार ३३९ र अप्रत्यक्ष रुपमा कयौँ नागरिकले बीमालाई आयआर्जनको माध्यम बनाएका छन् ।बीमा भएका व्यक्ति र सम्पति माथि बीमा कम्पनीको जमानत रहने र ऋण चुक्ता गर्ने आधार पनि बिमा हुने भएकोले बिमितको साखमा बृद्धि भइरहेको छ । र, व्यवसायिक निरन्तरता एवं व्यवसायिक सफलताको आधारस्तम्भको रुपमा बीमा क्षेत्र स्थापित भएको छ ।

बीमाले दीर्घकालीन लगानी र बचतबृद्धिमा पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । बिमा कोष र शुल्कको ठूलो हिस्सता राष्ट्रको दीर्घकालीन, राष्ट्रिय महत्वका पूर्वाधार लगायत् उत्पादनशील क्षेत्रमालगानी भइरहेको छ जसले देश विकास सँगै राष्ट्रको दीर्घकालीन लगानीको श्रोतको सुनिश्चितता भएको छ । त्यस्तै बीमा गर्नु भनेको बचत गर्नु पनि हो । जीवन बीमामा हुने दीर्घकालीन लगानीले व्यक्तिलाई लगानीमा प्रोत्साहनगरी बचतको मात्रामा पनि बृद्धि हुन्छ, परिणामतः बीमाराज्यको मुद्रास्फिती कम गर्ने एउटा प्रभावकारी माध्यमको रुपमा समेत स्थापित भएको छ ।

आर्थिक विकासको एउटा महत्वपूर्ण पक्ष उत्पादन र रोजगारी हो । कार्यस्थलमा हुने जस्तोसुकै दुर्घटनाजन्य जोखिमको बीमा गर्ने कानुनतः व्यवस्था छ । बीमाले मजदुरको सुरक्षाको प्रत्याभूति दिने भएकोले मजदुर मालिकबीचको सहसम्बन्ध विकास भई स्वच्छ औद्योगिक सम्बन्ध कायम राख्नमा महत्वपूर्ण भूमिका राख्दछ ।

यी यस्तै कारणहरूले विकासको बाटोमा बामे सर्दै गरेको हाम्रो देशले पनि गरिबी न्यूनिकरण र आर्थिक विकासका लागि बिमालाई माध्यमका रुपमा प्राथमिकतामा राखेको छ । जस अन्तर्गत बिमाको विषय संघ र प्रदेशको साझा अधिकारको सूचिमा संविधानमा उल्लेख गरिएको छ । त्यस्तै राज्यले राष्ट्रिय बिमा नीति तर्जुमा गरेको छ ।

बीमालाई प्रोत्साहन गर्न घर बीमा गर्ने नागरिकको आयमा पाँच हजार, जीवन बीमा गर्ने नागरिकको आयमा ४० हजार र स्वास्थ्य बीमा गर्ने नागरिकको आयमा २० हजारको कर छुटको व्यवस्था गरिएको छ । त्यस्तै कृषि तथा पशुपंक्षी बीमाको बीमाशुल्कमा ८० प्रतिशत अनुदानको व्यवस्था गरिएको छ । त्यस्तै तेश्रो पक्ष मोटर बिमा र बैदेशिक रोजगार बिमा अनिवार्य गरिएको छ ।

कर्णाली प्रदेश सरकारले १८ लाख नागरिकको दुर्घटना बिमागर्नु, विभिन्न पालिकाहरूले स्वास्थ्य बीमा, दुर्घटना बीमा, जीवन बीमा, पशु तथा कृषि बिमा लगायत्का धेरै खाले बीमा गर्ने तथा अनुदान दिने नीति ल्याएबाट राज्यका तीन ओटै सरकार बीमालाई प्रवर्धन गर्दै नागरिकको आर्थिक समृद्धी तथा गरिबी न्यूनिकरणका लागि सकारात्मक पहलका रुपमा बिमालाई अघि बढाउने प्रयत्नमा रहेको बुझ्न सकिन्छ ।

नेपाल सरकारको गृह मन्त्रालय मातहत विपद्को क्षेत्रमा क्रियाशील निकायले सन् २०२० मा गरेको सर्वेक्षणले नेपाल वातावरणीय परिवर्तनको जोखिमका हिसावले विश्वको चौथो, भुकम्पको जोखिमका हिसावले ११ औँ र समग्र प्राकृतिक प्रकोपको दृष्टिले २० औँ स्थानमा रहेको देखाएको छ ।

हाम्रो जस्तो विकाशोन्मुख मुलुकमा प्रत्येक वर्ष बाढी, पहिरो, जंगली जनावरको आक्रमणजस्ता विपद्हरूमा राज्य क्षतिपूर्तिमा संलग्न हुने अवस्थाको अन्त्य गर्दै बिमालाई नै जोखिम हस्तान्तरणको माध्यम बनाउने हो भने देशको विकासमा लगाउनु पर्ने रकम राहत वितरणमा खर्चनु पर्ने थिएन । यसै यथार्थबोधले हुनु पर्छ नेपाल सरकारले “एक परिवार एक बीमा”को अवधारणा लिएर स्थानीय तहसम्मै बिमाकोपहुँच विस्ताका लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको छ र नियामक नेपाल बिमा प्राधिकरणको केन्द्रीय र प्रादेशिक कार्यालयहरूबाट देशको कुनाकुनामा बिमाको सचेतना र प्रबर्धनका लागि नियमित रुपमा प्रभावकारी कार्यक्रमहरू हुँदै आएको छ ।

समग्रमागरिबीबाट समृद्धितर्फको यात्रा निकै नै कठिन र चुनौतिको यात्रा हो । संयमित र सन्तुलित हुँदै उपलब्ध विकल्पहरूको समुचित प्रयोग गर्न राज्य सदैव प्रयत्नरत हुन्छ नै । आर्थिक विकास र गरिबी निवारणका सन्दर्भमा बीमा,उपलब्ध विकल्पहरू मध्येको उत्तम विकल्प हो भन्ने कुरा माथिका सन्दर्भ, तथ्य/तथ्यांकहरूबाट पनि छर्लङ्ग हुन्छ ।

राज्यका तीनवटै तह मात्र होइन व्यक्ति र समाज नै यसतर्फ चिन्तनशील भई आआफ्नो क्षेत्र र तहमा भएका जोखिमहरूलाई कसरी बीमामा समेट्ने र लगानी तथा बचतका रुपमा बीमालाई प्रयोग गरी सम्मुन्नतिको बाटोमा लम्कने भनेर बीमालाई केन्द्र सरकार मात्र होइन प्रदेश, स्थानीय तह, पालिका, वडा, गाँउटोल, समाजहुँदै प्रत्येक व्यक्तिलाई बीमाको दायरामा ल्याउन सक्नु नै अहिलेको मूल चुनौति हो । त्यसो गर्न सकिएमा समृद्धि टाढा छैन र हामी सबै खुसी/सुखसँगै ढुक्कले बाँच्ने सक्ने समतामूलक समाजको परिकल्पना साकार पार्न सकिन्छ ।

(यो लेख, नेपाल बीमा प्राधिकरणले आयोजना गरेको निवन्ध प्रतियोगितामा कोशी प्रथम भएको हो । ) सम्पादक