विराटनगरका तीन विद्यालयका २२७ विद्यार्थीलाई मानव बेचबिखन र बाल विवाहविरुद्ध अभिमुखीकरण

विराटनगर ९ जेठ । विराटनगरका तीन वटा विद्यालयमा मानव बेचबिखन र बाल विवाहविरुद्ध अभिमुखीकरण कार्यक्रम गरिएको छ । विराटनगर महानगरपालिकाको सहयोगमा र माइती नेपाल मोरङको आयोजनामा मानव बेचबिखन तथा बाल विवाहविरुद्धको अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई मानव बेचबिखन र बाल विवाहका खतरा, त्यसका कानुनी आयामहरू, रोकथामका उपायहरू लगायत विषयमा जानकारी दिईएको माईती नेपाल विराटनगरका कार्यक्रम संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यालयका शिक्षकहरूको उत्साहपूर्वक सहभागिता रहेको पोखरेलले बताउनुभयो । माइती नेपाल मोरङका अनुसार, बालबालिकामाझ यस्ता संवेदनशील विषयमा सचेतना फैलाउने कार्य समुदायमै परिवर्तन ल्याउने महत्वपूर्ण आधार हो भन्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको हो । बिराटनगर महानगरपालिका र माइती नेपाल मोरङले यस्ता कार्यक्रमहरूलाई अन्य विद्यालय तथा समुदायसम्म विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएका छन् ।

जेठ ४ गते विराटनगर–१७ स्थित मदर्शा आशर्फिया इजहारुल उलूममा सुरु गरिएको थियो । सो मदर्शामा ८४ जना विद्यार्थीहरू सहभागी भएका थिए । जेठ ६ गत बिराटनगर–४ स्थित श्री माध्यमिक विद्यालय, कञ्चनबारीमा ८२ जना विद्यार्थी र जेठ ९ गते विराटनगर–१४ स्थितश्री बाल माध्यमिक विद्यालयमा ६१ जना विद्यार्थीहरू सहभागी भएका थिए ।

तीन वटा विद्यालयमा गरी जम्मा २२७ जना विद्यार्थीहरूलाई लक्षित गर्दै सचेतनामूलक गतिविधिहरू सञ्चालन गरिएको माइती नेपालकी मनोपरामर्शकर्ता गिताञ्जली शर्माले जानकारी दिनुभयो । कार्यक्रममा महानगर सामाजिक विकास महाशाखा प्रमुख मञ्जु लाेहनी, माइती नेपालका संयाेजक पाेखरेल र मनाेपरामर्शकर्ता शर्माले सहजीकरण गर्नु भएकाे थियाे ।