
विराटनगर, ७ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै गैरहेको बताउनु भएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको आयोजनामा र पूर्वी पृतना हेडक्वाटर इटहरी सुनसरीको व्यवस्थापनमा सञ्चालित‘ कोशी प्रदेश विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन एकीकृत अभ्यास हातेमालो–७’ को आज दोस्रो दिन विराटनगर जुटमिलको खुल्ला चौरमा आयोजित भूकम्प तथा आगलागी जोखिम न्यूनिकरण पूर्वअभ्यासको अवसरमा बताउनु भएको हो ।
उहाँले जलवायु परिवर्तनका नकारात्मक असर र विकास निर्माणको क्रममा कमजोरी एवं त्रुटिका कारण विपद् व्यवस्थापनको ठूलो जोखिम रहेको धारणा राख्नु भयो ।
मुख्यमन्त्री कार्कीले स्थानीय निकाय, राष्ट्र सेवक कर्मचारी र सुरक्षा निकाका लागि विपद् न्यूनिकरण गर्ने कार्य पहिलो चुनौती रहेको छ भन्दै विगत पाँच-सात वर्षको आफ्नो अनुभवबाट यो देखिएको विचार राख्न् भयो ।
उहाँले विपद्को समयमा जनताको जीउधनलाई प्राथमिकतामा राखि जोखिम व्यवस्थापन गर्नुपर्ने बताउँदै राहत उद्धारमा नागरिकले अनुभूति गर्ने गरी कार्य गर्नुपर्नेमा जोड दिनु भयो ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले नीति र कानुनको निर्माण गरि विपद् व्यवस्थापनका लागि नागरिकप्रतिको दायित्व वोध गर्दै सचेतना कार्यक्रम,साधन स्रोतको व्यवस्था गर्ने बताउनु भयो ।
उहाँले आधुनिक प्रविधि, तालीम प्राप्त तीन सुरक्षा निकायका जनशक्ति, स्थानीय निकायको सहयोगमा प्रदेश सरकारले झापाको अर्जुनधारा र मोरङको रङ्गेलीमा ‘कोशी प्रदेश विपद् व्यवस्थापन अतिआवश्यक केन्द्र निर्माण गर्ने कार्य शुरु गरेको जानकारी दिनुभयो ।
दुई दिने सो अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोइटी, नेपाल स्काउट र राष्ट्रसेवक कर्मचारी गरी ९० जनाको सहभागिता रहेको छ ।