
विराटनगर, ४ जेठ । कोशी प्रदेश सभाको सातौँ अधिवेशनको आज बसेको पहिलो बैठकमा ‘कोशी प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२’ सभामा पेस भयो ।
आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले सो अध्यादेश प्रस्ताव गर्दै सदन नचलेको अवस्थामा सरकारको कामकाज आएको समस्यालाई निराकरण आठ वटा विधेयक अध्यादेशबाट ल्याएको जानकारी दिनुभयो ।
उहाँले जनताको चाहना र आवश्यकतालाई परिपूर्ति गर्न एवं प्रदेश सरकारले सम्पत्र गरेको लगानी सम्मेलनसँग सम्बन्धित कानुनलाई संशोधन नगरी नहुने अवस्था रहेकाले बाध्य भएर अध्यादेशबाट विधेयक ल्याएको बताउनुभयो ।
उहाँले उद्योग, व्यापारमा देखिएका कठिनाई र लगानी सम्मेलनमा लगानीकर्ताहरुलाई अकार्षित गराउन अध्यादेशबाट आएका विधेयकले लगानी सम्मेलनलाई सफल बनाउन महत्वपूर्ण योगदान दिएको चर्चा गर्नुभयो ।
बैठकलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी(एमाले) संसदीय दलका उपनेता तिलकुमार मेङ्याङ्बो लिम्बूले सरकार सीमित साधन र स्रोतको उच्चतम उपयोग गरी जनताको चाहना र आवश्यकतालाई पूरा गर्न इमान्दार भएर लाग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले जनताले सरकारसँग आशा र अपेक्षा गरेका छन र सो आशा र अपेक्षालई पूरा गर्दै ‘ समृद्ध नेपाल र सुखी नेपाली’ राष्ट्रिय संकल्प पूरा गर्न सरकार प्रतिबद्ध छ भन्दै चालु अधिवेशनको सफलताको शुभकामना दिनुभयो ।
नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले अर्थ बलियो भए मात्र देशलाई विकास र समृद्धिमा लैजान सकिने भन्दै लगानी सम्मेलनले कोशी प्रदेश सरकारलाई ठूलो सफलता मिलेको बताउनुभयो ।
उहाँले उद्योग, व्यापारलाई फस्टाउन तथा निजी क्षेत्रलाई लगानी गर्न प्रेरित गर्न आवश्यक पर्ने सबै कानुन संशोधन गर्न सरकारलाई सुझाव दिँदै किसानलाई आवश्यक पर्ने रासायनिक मल समयमै सरकारले उपलब्ध गराउनु पर्ने माग गर्नुभयो ।
नेता थापालेले खुला सीमाका कारण तस्करहरुको मालसामान नपक्रने र उपभोक्ताहरुले दैनिक उपभोग गर्ने सामग्री सीमापारी बजारबाट खरिद गरी ल्याएको सामान प्रहरीले पक्रनु गलत हो भन्दै दुई ठूला दल मिलेर बनाइएको अहिले सरकारका कारण सुशासन, शान्ति सुरक्षा एवं आर्थिक विकासमा सुधार भएको जिकिर गर्नुभयो ।
बैठकमा नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्रकुमार राई, नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राष्ट्रिय प्रजतान्त्र पार्टी संसदीय दलका नेता भक्तिप्रसाद सिटौला र जनता समाजवादी पार्टी संसदीय दलका नेता निर्मला लिम्बूले चालु अधिवेशनको सफलताको शुभकामना दिँदै सरकारले सबैको गरिमा राखेर बजेट बनाउनु पर्ने धारणा राख्नु भएको थियो ।
कोशी प्रदेश सभाको अर्को बैठक भोलि ३ बजे बस्ने उपसभामुख सिर्जना दनुवारले जानकारी दिनुभयो ।