
विराटनगर १ जेठ । नेकपा (एमाले) कोशी प्रदेश कमिटीले प्रदेश सरकारलाई आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तर्जुमा गर्नका लागि सुझावहरु पेश गरेको छ । प्रस्तुत गरिएका सुझावहरुमा विकास निर्माण, रोजगारी, कृषि, स्वास्थ्य, भाषा संरक्षण, सुशासन र स्थानीय उत्पादन प्रवद्र्धनजस्ता महत्वपूर्ण विषय समेटिएका छन् ।
नेकपा एमाले स्थायी कमिटी सदस्य, कोशी प्रदेश इन्चार्ज तथा पूर्व मुख्यमन्त्री शेरधन राई, नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा लगायतको उपस्थितिमा बिहिबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई बुझाईएको सुझाव पत्रमा चालु तथा निर्माणाधीन आयोजनाहरुको वर्गीकरण गरी सम्पन्न हुने चरणमा रहेका योजनाहरुलाई प्राथमिकतामा राखी अगाडि बढाउन आग्रह गरिएको छ ।
मध्यपहाडी पुष्पलाल लोकमार्गको कोरिडरमा पर्ने ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम र पाँचथरका मुख्य शहर तथा बजार केन्द्रहरुलाई समेट्ने गरी प्रत्येक जिल्लामा कम्तिमा ५÷५ वटा योजना ल्याउन सुझाव दिएको छ ।
वैशाख १८–१९ मा सम्पन्न लगानी सम्मेलनमा छुटेका जिल्लाहरु तथा क्षेत्रहरुलाई समेत आगामी बजेट र कार्यक्रममा समावेश गर्नुपर्ने सुझाव पत्रमा उल्लेख गरिएको छ । साथै, प्याज, लसुन, बेसार, खुर्सानी र टमाटरजस्ता मसलाजन्य खाद्य वस्तुहरुमा प्रदेशलाई आत्मनिर्भर बनाउने उद्देश्यले स्थानीय तहहरुसँग सहकार्यमा “उत्पादनमा जोडौं सबै घर, सबै घरलाई बनाऔं आत्मनिर्भर” अभियान सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ ।
प्रदेशभित्र कार्यरत क्युपेक श्रमिक तथा मजदुरहरुलाई सीप अभिवृद्धि तालिम दिई प्रमाणपत्र र लाइसेन्स वितरण गर्नुपर्ने, श्रम डेस्कको विस्तार गरी स्थानीय तहमार्फत परिचयपत्र उपलब्ध गराई सामाजिक सुरक्षा कोषसँग आबद्ध गरिनुपर्ने सुझाव कोशी प्रदेश सरकारलाई बुझाईएको छ ।
संबिधानको ब्यवस्था, मर्म र भावनालाई आत्मासात गर्दै प्रदेशका बहुसंख्यक नागरिकले प्रयोग गर्ने भाषालाई कामकाजको भाषा बनाउने र देवनागरीसँगै स्थानीय भाषामा पनि सरकारी कार्यालय, विद्यालय तथा संस्थाका नाम राख्न सकिने व्यवस्था गर्नुपर्नेमा जोड दिइएको छ ।
कृषिमा अर्गानिक मल, गुणस्तरीय बीउ उत्पादन र दक्ष जनशक्ति व्यवस्थापनमा ध्यान दिनुपर्ने, चिया, कफी, एभोकाडो, ड्रेगन फ्रुटजस्ता नगदेबाली प्रवद्र्धन गर्नुपर्ने र हाते ट्र्याक्टरको पहुँच पहाडी क्षेत्रका किसानलाई सुनिश्चित गरिनुपर्ने सुझाव पत्रमा समेटिएको छ ।
स्वास्थ्य क्षेत्रमा जिल्ला अस्पतालहरुलाई विशेषज्ञ सेवा केन्द्रको रूपमा विकास गर्ने र पालिकास्तरमा दक्ष जनशक्ति परिचालन गर्नुपर्ने, युवाहरुलाई रोजगारीमुखी बनाउने उद्देश्यले प्रत्येक पालिकामा १५ जनालाई समेट्ने स्टार्टअप कार्यक्रम ल्याउनुपर्ने उल्लेख छ ।
कोशी प्रदेशका याक–चौरी पालक कृषकलाई संरक्षण र प्रोत्साहन दिनुपर्ने, स्थानीय तहहरुसँग सहकार्य गरी एकीकृत सेवा केन्द्र स्थापना गर्नुपर्ने सुझाव पनि एमाले प्रदेश कमिटीले प्रदेश सरकारलाई दिएको छ ।