
विराटनगर ३१ वैशाख । कोशी प्रदेशस्तरीय सुरक्षा बैठक बुधबारदेखि विराटनगरमा सुरु भएको छ ।
विराटनगरस्थित होटल एसियाटिकमा शुरु बैठकमा कोशी अन्तर्गतका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी छन् । बैठकमा जिल्लाबाट वर्तमान सुरक्षा अवस्था, चुनौती र स्थानीय तहमा देखापरेका समस्याबारे प्रस्तुति दिइनेछ । त्यसपछि संघीय गृहमन्त्री रमेश लेखकको विशेष सम्बोधन रहने जनाइएको छ ।
सुरक्षा बैठकमा गृहसचिव, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी), सशस्त्र प्रहरी बलका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक र प्रदेश तथा जिल्ला तहका सुरक्षा अधिकारीहरूको उपस्थिति रहनेछ ।
पछिल्लो राजनीतिक अवस्था, आगामी निर्वाचन, सीमावर्ती क्षेत्रमा बढ्दो आपराधिक गतिविधि र सामाजिक अपराधहरूबारे पनि बैठकमा विस्तृत छलफल हुने जनाइएको छ । सुरक्षा संयन्त्रलाई थप चुस्त र प्रभावकारी बनाउँदै प्रदेशमा शान्ति, स्थायित्व र सुशासनको प्रत्याभूति दिन बैठक निर्णायक हुने सरकारी अधिकारीहरूको भनाइ छ ।