
विराटनगर १३ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुद क्षेत्रको विकासका लागि यस क्षेत्रमा ‘कोशी खेलकूद ग्राम ’निर्माण गर्ने बताउनु भएको छ ।
मनमोहन मेमेरियल कप फाउण्डेशन इनरुवा सुनसरीले विराटनगरमा आजदेखि आयोजित तेस्रो संस्करणको ‘एमएम राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता–२०८२’ को विराटनगर–१९ बैजनाथपुर स्थित गिरिजाप्रसाद रङगशालामा आज उद्घाटन गर्दै उहाँले यस क्षेत्रमा ग्राम स्थापनाबाट समग्र खेलकूद क्षेत्रको विकास हुनुका साथै अन्तर्राष्ट्रियस्तरमा नेपालको शिर ठूलो हुने बताउनु भयो ।
मुख्यमन्त्री कार्कीले पूर्वाञ्चल विश्वविद्यालय र सुन्दरहरैचा नगरपालिकासँगको संयुक्त प्रयासमा खेलकूदको पठनपाठनको व्यवस्थाका साथै यसका लागि चाहिने रङ्गशालाला सहित अन्य सामग्रीको व्यवस्था गरिने बताउनु भयो । उहाँले प्रदेश सरकारले आगामी तीन वर्षभित्र यस क्षेत्रमा क्रिकेटको लागि अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण सम्पन्न गर्न आवश्यक बजेटको व्यवस्था गर्ने जानकारी समेत दिनुभयो । मुख्यमन्त्री कार्कीले भन्नुभयो,‘प्रदेश सरकारको नाममा आगामी वर्ष एउटा क्रिकेट प्रतियोगिता गर्न प्रयाप्त बजेटको व्यवस्था गर्न लागेको बताउनु भयो ।
फाउण्डेशनद्वारा वैशाख १७ गतेसम्म हुने ५० ओभरको लिगकम नकआउटको आधारको क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लव,सशस्त्र प्रहरी बल क्लव, वागमती प्रदेश, नेपाल आर्मी क्लव, कोशी प्रदेश र भारतको आसाम क्रिकट क्लवको सहभागिता रहेको फाउण्डेशनका अध्यक्ष विप्लव घोषले जानकारी दिनु भयो ।