
विराटनगर ६ फागुन । विराटनगर ५ को एभरेष्ट सेकेन्डरी स्कुलले सोमबार र मंगलबार विद्यार्थीले विभिन्न परियोजनाहरु प्रस्तुत गरे । उनीहरुले विज्ञान र प्रविधि सम्वन्धी गरेका आविश्कारहरुहरु विस्तृतमा प्रस्तुति पनि दिए ।
वैज्ञानिक डा. बिष्णु रायमाझी, विद्यालयका प्रिन्सीपल टिकाराम पुरी, अध्यक्ष विनोद ढकाल विद्यार्थीका हरेक स्टलमा पुगे । उनीहरुले राखेका हरेक जिज्ञाशाहरुको जवाफ विद्यार्थीहरुले दिए ।
विद्यार्थीले बनाएका परियोजनाहरु हेरेपछि वैज्ञानिक डा. रायमाझीले भने,‘ बालबालिकाको रुची अनुसार उनीहरुको ‘इनोभेटिभ’ वा ‘क्रिटिकल थिङकिङ’लाई अभिभावकले नजिकबाट बुझेर प्रोत्साहन गर्न सके एभरेष्ट एजुकेशन एक्जिबिसन जस्ता कार्यक्रमले वैज्ञानिक बनाउन सहयोगी हुन्छ ।’
एक्जिबिसनमा विद्यार्थीलाई उत्प्रेरित गर्न आएका उनले एभरेष्टले बालबालिकालाई अन्वेषणमा लाग्न प्रेरित गर्ने वातावरण बनाएकोमा खुी व्यक्त गरे । एक्जिबिसनले बालबालिकालाई सिक्ने सिकाउने कुरामा धेरै अभिप्रेरणा हुने बताए । सामान्य विद्यालयबाट अध्ययन गर्दै पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न अमेरिका पुगेको स्मरण गर्दै उनले भने,‘ मैलेपनि रुची अनुसारको विभिन्न अन्वेषणमा सक्रियता पूर्वक सहभागिता जनाएको थिएँ ।’
एभरेष्टमा कक्षा १० मा अध्ययनरत नातिको प्रदर्शन हेर्न पुग्नुभएका विराटनगर–१० का घनेन्द्र खड्काले भने,‘स्कुलले दिएको यो अवसर बालबालिकाको लागि अत्यन्तै सुनौलो हो । यहाँ अनुभव गरेर सिक्ने अवसर प्रदान भएको छ । यो तरिका अत्यन्त मन पर्यो । यसले सिकेका कुरालाई व्यवहारमा उतार्न सिकाएको छ ।’
अभिभावक रिता बरालले घरमा बच्चाहरुले केहि गर्लान जस्तो नलागे पनि यहाँ आएर हेर्दा भने धेरै गर्लान् जस्तो लागेको प्रतिकृया दिईन । कक्षा १० की छात्रा धारणा बरालकी आमाले एक्जिबिसन धेरै राम्रो लागेको भन्दै अरु स्कुलको तुलनामा एभरेष्टको सिकाई पद्दति उत्कृष्ट रहेको प्रतिकृया दिईन ।
कक्षा ९ की सृजना खनालको बुझाईमा पनि एभरेष्ट स्कुलले हरेक वर्ष विभिन्न कार्यक्रम गरेर किताबी ज्ञान मात्र नभई शारिरिक, मानसिक तथा उर्जाशील भावनाको विकास गर्दै आएको छ । उनले भनिन्,‘यसरी आयोजना हुने विभिन्न कृयाकलापले ईसिए र सीसीएमा पनि निकै राम्रो प्रगति गरेको छ भने विद्यार्थीहरूमा ज्ञान र सीप सँगसँगै क्षमता विकासमा सहयोग पुर्याएको छ ।’ उनले ‘डिजी स्कुल’, ‘कारखाना’, ‘ह्याप्पीनेस करिकुलम’ लगायतका कोर्षले विद्यार्थीको क्षमता अभिवृद्धिमा अतुलनीय योगदान गरेको बताए । कक्षा १० की छात्रा रिजु अधिकारीले एक्जिबिसन रमणीय मात्रै नभई धेरै कुरा सिक्ने थलोको रुपमा आफूहरुले पाएको बताईन ।
विद्यालयका अध्यक्ष विनोद ढकालले एभरेष्टका बालबालिकाले आफ्नो सिकाइलाई व्यवहारत लागु गर्न सकुन भनेर हरेक वर्ष यस्ता कार्यक्रम गर्दै आएको बताए । उनले एभरेष्ट स्कुलले उत्कृष्ट शिक्षण थलोको रुपमा आफूलाई स्थापित गर्न प्रयत्नशील रहेको समेत बताए ।
विद्यालयका प्राचार्य टिकाराम पुरीले विराटनगरमै विश्वस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य लिएर आफूहरु अघि बढेको भन्दै त्यसको परिणाम क्रमशः आइरहेको चर्चा गरे । उनले अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा एभरेष्टका विद्यार्थीहरुले हरेक क्षेत्रमा लिएको अग्रणी जिम्मेवारीले आफूहरुलाई गर्व लाग्ने बताए । उनले एभरेष्ट स्कुलले हरेक वर्ष यस्ता कार्यक्रम गर्दै आएको भन्दै विद्यार्थीको सर्वाङ्गीण विकासका निम्ति कुनै कसर नराख्ने समेत बताए ।
‘ज्ञान सीप र रचनात्मकतासँग भविष्यको आकार’ भन्ने नाराका साथ आयोजना गरिएको एक्जिबिसनमा विद्यार्थीहरुले विज्ञान, कम्प्यूटर विज्ञान, कला कौशल, र अन्य विभिन्न रोचक तथा ज्ञान मूलक विषयवस्तुहरूको प्रदर्शनी गरेको एभरेष्ट कलेजका सहायक क्याम्पस प्रमुख टीएन भण्डारीले बताए ।
सोमबार र मंगलबार दुई दिन सम्म चलेको एक्जिबिसनमा २५ सय विद्यार्थीले आफूहरुले सिकेका पाठ्यक्रम अनुसारका परियोजनाहरुको प्रदर्शनीहरुलाई ४१ वटा स्टल मार्फत प्रस्तुत गरेका थिए ।