विराटनगर १९ कात्तिक । मोन्था चक्रवातका कारण यही कात्तिक १३ देखि १६ गतेसम्म परेको अविरल वर्षाले कोशी प्रदेशमा धान र तरकारी बालीमा मात्र दुई अर्ब पाँच करोड रुपियाँभन्दा बढीको क्षति भएको छ ।
प्रदेश कृषि विकास निर्देशनालय, विराटनगरका अनुशार प्रदेशको १२ हजार ६३२ हेक्टर क्षेत्रफलमा लगाइएको बालीनालीमा क्षति हुँदा ५८ हजार २६७.२६ मेट्रिक टन धान र तरकारी नष्ट भएको छ । दुई अर्ब पाँच करोड ५४ लाख ३६ हजार ७९० रुपियाँ बराबरको क्षति भएको निर्देशनालयले जनाएको छ ।
झापा, मोरङ र सुनसरी जिल्लामा सबैभन्दा बढी क्षति भएको छ । झापामा चार हजार ३६४ हेक्टर क्षेत्रफलमा लगाइएको २१ हजार ८२० मेट्रिक टन धान नष्ट हुँदा करिब ७८ करोड ११ लाख ५६ हजार रुपियाँको नोक्सानी भएको छ ।
मोरङमा तीन हजार ४२१ हेक्टरको १६ हजार ४२०.८ मेट्रिक टन धानमा क्षति पुग्दा ५८ करोड ७८ लाख ६४ हजार रुपियाँ बराबरको क्षति हुने अनुमान गरिएको छ ।
सुनसरीमा दुई हजार ८५१ हेक्टरमा लगाइएको १२ हजार ६५८.४४ मेट्रिक टन धान नष्ट हुँदा ४५ करोड ३१ लख ७२ हजार रुपियाँको क्षति भएको छ । सुनसरीमा दुई सय हेक्टरमा लगाएको तरकारी बाली नष्ट हुँदा थप चार करोड रुपियाँको नोक्सानी भएको छ ।
पहाडी जिल्लामा पनि वर्षाले धानबालीमा उल्लेख्य क्षति पुर्याएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार तराईका जिल्लामा काटेर सुकाउन राखिएको करिब २० प्रतिशत धान ढलेको र त्यसमध्ये २५ देखि ३० प्रतिशतसम्म क्षति भएको छ ।
पहाडी जिल्लामा आठदेखि १० प्रतिशत धान ढलेकोमा करिब २५ प्रतिशत र हिमाली जिल्लामा पाँचदेखि छ प्रतिशत धान ढलेकोमा करिब २५ प्रतिशत क्षति भएको अनुमान गरिएको छ ।