
विराटनगर ५ फागुन । नेपालमा जातीय तथा लैङ्गिक आधारमा महिला र बालिकामाथि हुने हिंसा बढ्दो क्रममा रहेको छ ।
२०२३ को नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवधिभर प्रकाशित विषयवस्तुमा केन्द्रित भएर गरिएको विश्लेषणमा प्रदेशगत रुपमा मधेश प्रदेशमा सवैभन्दा बढी हिंसा हुने गरेको देखिएको छ ।
आईतबार दलित महिला संघ ( फेडो) मोरङले विराटनगरमा आयोजना गरेको नेपालमा जातीय तथा लैंगिक आधारमा महिला र बालिकामाथि हुने हिंसा न्युनीकरणमा संचारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिईएको हो । फेडोले सार्वजनिक गरेको जातीय तथा लैङ्गिक आधारमा महिला र बालिकामाथि हुने हिंसा अध्ययन प्रतिवेदन २०८१ अनुसार लैङ्गिक आधारमा हुने हिंसा मधेशमा सवैभन्दा बढी देखिएको छ ।
प्रदेशगत मुद्दाको अवस्था विश्लेषण गर्दा सबैभन्दा बढी ३१.५३ प्रतिशत घटना मधेस प्रदेशका रहेका छन् भने सबैभन्दा कम गण्डकी प्रदेशका ३.६८ प्रतिशत रहेका छन् । मधेस प्रदेशका कुल ७ हजार ५८२ घटना अभिलेखन भएका छन् । गण्डकी प्रदेशमा कुल घटनामध्ये ३.६८ प्रतिशत ८८७ घटना अभिलेखन भएका छन् ।
देशभर भएका २ हजार ४४५ वटा घटनाहरु मध्ये लुम्बिनीमा १६.८८, कोशीमा ११.१५, बाग्मतीमा ८. ८७ , काठमाण्डौं उपत्यकामा मात्रै १४ दशमलव ४३, सुदरपश्चिममा ७.५५, कर्णालीमा ५.८६ र गण्डकीमा ३,६८ प्रतिशत हिंसाका घटना भएका छन् ।
फेडोले घरेलु हिंसा, घरेलु हिंसाका कारण कर्तव्य ज्यान, बलात्कार, बलात्कारको प्रयास, जबर्जस्ती करणी गरी हत्या, अपहरण गरी बलात्कार , मानव बेचविखन बलात्कार , अवैध गर्भपतन, सार्वजनिक स्थलमा दुव्र्यवहार , जातीय छुवाछुत , बोक्सीको आरोप , बालविवाह , दाइजोसम्बन्धी कसुर , बाल यौन दरुपयोग
र अप्राकृतिक मैथुनका घटनाहरुलाई केन्द्रित गरेर अध्ययन गरिएको फेडोकी मोरङ अध्यक्ष शर्मीला परियारले जानकारी दिनुभयो । उहाँका अनुसार सवैभन्दा बढी घरेलु हिंसाका घटनाबाट १९ हजार ७७३ जना पीडित भएका छन् । बलात्कारबाट २ हजार ९२६, बालयौन दुरुपयोगबाट ४८३ जना पीडित भएको उहाँले बताउनुभयो ।
अध्यनन प्रतिवेदन अनुसार लैंगिक आधारमा महिला ८० प्रतिशत, पुरुष ८.१५, बालिका ११.५४ र बालक ०.२४ प्रतिशत पीडित छन् । महिलातर्फ मधेशी र बालिका तर्फ जनजातिमा धेरै हिंसा भएको देखिन्छ । महिलातर्फ कम हिंसाका घटना भएको समुदायमा बाह्मण देखिएको छ । बालिकातर्फ अन्यको सङ्ख्या कम छ । महिलातर्फ अभिलेखन भएका कुल उजुरीमा ३३.६५ प्रतिशत मधेशी महिलाले विभिन्न प्रकारका हिंसाको सामना गर्नुपरेको देखिएको छ ्।
हिंसापीडित दलित महिलाको कुल सङ्ख्या ११.५४ प्रतिशत (२ हजार २२१) छ । यस समुदायका हिंसामा पर्ने महिलाहरूको सङ्ख्या घरेलु हिंसा १९८३ (समग्रमा ११.२३), बलात्कार १७० (समग्रमा ५.८० प्रतिशत), बलात्कारको प्रयास ३० (५.८८ प्रतिशत), जातीय छुवाछुतबाट १७ (५० प्रतिशत, अन्य बाँकी दलित पुरुष), सार्वजनिक स्थलमा दुव्र्यवहार ५, बोक्सीको आरोप ३ र अवैध गर्भपतनमा २ रहेको प्रतिवेदनमा उल्लेख छ । जातीय पहिचान नखुलाएका हिंसापीडित महिलाको संख्या ११.११ प्रतिशत छ ।
बालिका तर्फ समग्रमा २७७७ (११.५४ प्रतिशत) जना हिंसामा परेका छन् । आदिवासी जनजातितर्फ सबैभन्दा बढी ३४.७१ प्रतिशत (९६४) हिंसाका घटना भएका छन् । ६४२ जना बालिका बलात्कृत भएका छन् । यो बालिकातर्फ समग्र बलात्कारका घटनाको २३.११ प्रतिशत हो भने यस समुदायका बालिकाले भोगेका कुल घटनामध्ये ६६.५९ प्रतिशत हो । यस्तै २०२ जनामाथि बाल यौन दुरुपयोग (४१.८२५), ७२ जनामाथि बलात्कारको प्रयास (१४.११५), २७ घरेलु हिंसा, ८ अपहरण गरी बलात्कार, ६ बालविवाह, ३ मानव बेचबिखन जजक, २ जजक गरी हत्या, १–१ जना सार्वजनिक दुव्र्यवहार र अप्राकृतिक मैथुनको हिंसाबाट पीडित भएकी छन् ।
हिंसापीडित दलित समुदायका बालिकाको सङ्ख्या १९.४४ प्रतिशत छ । जसमा बलात्कारका ३८७ (समग्रमा २१ प्रतिशत), यौन दुरुपयोगका ७४ (१५.३२ प्रतिशत), बलात्कारको प्रयास ३९(७.६४५), घरेलु हिंसा १८, बालविवाह ८, मानव बेचबिखन जवरजस्ती करणी ५, अपहरण गरी बलात्कार र सार्वजनिक स्थलमा दुव्र्यवहारका ४–४ र जजक गरी हत्यामा एउटा घटना अभिलेखन भएको फेडोका मोरङ कार्यक्रम संयोजक नरबहादुर आउजीले जानकारी दिनुभयो ।