


विराटनगर ३१ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो काँधमा जिम्मेवारी भएको भन्दै त्यो पूरा नगरी राजीनामा नदिने प्रष्ट पार्नु भएको छ ।
बुधबारदेखि जारी केन्द्रीय समिति बैठकको समापनमा सम्बोधन गर्ने क्रममा उहाँले सो कुरा बताउनु भएको हो । आफ्नो राजीनामाबारे महाधिवेशनमा छलफल गर्ने पनि उहाँले बताउनुभयो । ‘केही साथीले राजीनामा माग्नुभाछ । मसँग माग्नु भाको होइन, माइकमा सोधेको थिए,’ ओलीले भन्नुभयोे, ‘५५ वर्षदेखि एउटा सानो टुक्रो आन्दोलन बोकेर ल्याएको हुँ ।
मेरो काँधमा जिम्मेवारी छ । त्यो पूरा नगरी छाड्दिनँ ।’ उहाँले राजीनामाबारे महाधिवेशन प्रतिनिधिले फैसला गर्ने पनि बताउनुभयो । ‘मेरो राजीनामा महाधिवेशनमा छलफल गरौंला । प्रतिनिधिहरूसँग फैसला मागौंला । पार्टीलाई तिक्तताका साथ अघि नबढाऔं । मित्रताका साथ जाऔं ।’

