
विराटनगर १ फागुन । नेकपा एमालेको जरा केन्द्रित अभियान फागुन ३ गते देखि मोरङमा शुरु हुँदैछ । अभियानको शुरुवात विराटनगर महानगरपालिकाबाट गरिने भएको छ ।
अभियानको शुभारम्भ एमाले महासचिव शंकर पोखरेलले गर्ने कार्यक्रम रहेको एमाले विराटनगर महानगर कमिटीका प्रवक्ता राम पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार महासचिव पोखरेललाई विराटनगरमा भव्य मोटरसाईकल र्याली सहित स्वागत गर्दै अभियानको थालिने गरिने महानगर कमिटीको तयारी रहेको पोखरेलले जानकारी दिनुभयो ।
फागुन ३ गते उद्घाटन हुने जरा केन्द्रित अभियान र प्रशिक्षण कार्यक्रमको पूर्व तयारी बैठक आज बसेको छ । महानगर कमिटी अध्यक्ष रोहित कोइरालाको अध्यक्षतामा बसेको बैठकमा एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरे, मोरङ अध्यक्ष बाबुराम कार्की , महानगर इन्चार्ज पर्शुराम वस्नेत, मोरङ सचिव रविन थापा, महानगर कमिटी उपाध्यक्ष सुनिता श्रेष्ठ, सचिव बलराम गिरी, उपसचिव गणेश साह, अन्ताज हुसेन, महानगरका १९ वटै वडाका वडाका पदाधिकारीहरू, जनसंगठनका प्रमुख लगायतकाे सहभागिता रहेको छ । अभियान र प्रशिक्षणको तयारीका लागि शुक्रबार जनसंगठनका प्रमुखको बैठक पार्टी कार्यालय पाञ्चालीमा दिउँसो १ वजेका लागि बोलाईएको महानगर कमिटीका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।
गत मङ्सिर अन्तिम साता बसेको एमाले कार्यशाला बैठकले माघदेखि चैतसम्म तीन महिने वडा कन्द्रित कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार एमालेले केन्द्रीय कमिटी बैठकमार्फत उक्त कार्यक्रमका लागि स्पष्ट खाकासहितको कार्ययोजना बनाईएको छ । ‘वडा केन्द्रित अभियान अन्तर्गत तीन महिना जरा केन्द्रित अभियानमा नेताहरू खटिने भएका छन् । सङ्गठनका कमजोरी, जनताको चासो र गुनासो के छ भन्ने कुरा त्यो कार्यक्रममार्फत सङ्कलन गरिने र सम्बोधनको प्रयास गरिने प्रवक्ता पोखरलले जानकारी दिनुभयो ।
नेकपा एमाले कोशी प्रदेशले सबै जिल्लाहरूलाई जरा केन्द्रित अभियान अघि बढाउन निर्देशन दिइसकेको छ ।