विराटनगर, २१ जेठ । विराटनगरको पुष्पलाल चोकमा विद्यार्थी केन्द्रित ट्राफिक सचेतनामूलक कार्यक्रमलाई तीव्र पारिएको
छ ।
ट्राफिक प्रहरी पोस्ट पुष्पलाल चोकले विद्यार्थीलाई लक्षित गरेर विभिन्न विद्यालयमा कार्यक्रम सञ्चालन गरेको हो । सम्बन्धित विद्यालयमै पुगेर प्रत्येक साताको शुक्रबार र मङ्गलबार विद्यार्थीलाई आवश्यक प्रशिक्षण दिने गरिएको ट्राफिक प्रहरीका सहायक निरीक्षक किशोर निरौलाले जानकारी दिनु भयो । उहाँका अनुसार सवारी दुर्घटना न्यूनीकरण र सडक अनुशासनको पालना गराउने उदेश्यले विद्यालय केन्द्रित कार्यक्रमका लागि ट्राफिक सक्रियता बढाइएको छ । त्यस अवसरमा विद्यार्थीलाई ट्राफिक नियम तथा सुरक्षित सडक प्रयोगका बारेमा सैद्धान्तिक प्रशिक्षण दिने गरिएको ट्राफिक प्रहरी पोस्ट पुष्पलाल चोकका इन्चार्जसमेत रहेका निरौलाले बताउनु भयो ।
साताको शुक्रबार र मङ्गलबारबाहेकका ५ दिन तीन पाङ्ग्रे सवारीसाधनका चालकलाई लक्षित गरेर ट्राफिक सचेतनामूलक कार्यक्रम गर्ने गरिएको जानकारी उहाँले दिनु भयो । निरौलाका अनुसार ट्राफिक नियम, सङ्केत, आवश्यक कानुन, सवारी दुर्घटना एवम् सवारी चलाउँदा ध्यानदिनुपर्ने कुरा लगायतका बारेमा चालकहरुलाई जानकारीमूलक प्रशिक्षण दिने गरिएको छ । यसैबीच दुर्घटना नियन्त्रणको मुख्य उदेश्य राखेर मोरङभरि नै ट्राफिक प्रहरीले तीन चक्के सवारीसाधनका चालक र विद्यार्थीलाई लक्षित गरी विशेष अभियान सञ्चालन गरेको छ ।
सिटी सफारी, अटो टेम्पो लगायतका सवारीका चालक तथा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी केन्द्रित ट्राफिक सचेतनामूलक कार्यक्रमको सहजीकरण मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्की, प्रहरी नायव निरीक्षण शिवकुमार शर्मा लगायतले गरिरहनु भएको छ ।
ट्राफिक सचेतनामूलक कार्यक्रमसँगै विद्यार्थीलाई लागुऔषध दुव्र्यसन, यसबाट हुने खतरा, इन्टरनेटको सुरक्षित प्रयोग, सामाजिक सञ्जालको प्रयोग एवम् यसबाट हुने फाइदा तथा बेफाइदा र साइबर अपराधका बारेमा सैद्धान्तिक प्रशिक्षण दिने गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक रोहित शर्माले यस सम्बन्धमा प्रशिक्षण दिनु भएको छ ।