प्रतिनिधि सभाका सभामुख घिमिरे आज विराटनगर आउँदै

विराटनगर १९ माघ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे आज विराटनगर आउँदै हुनुहुन्छ ।

आज विहान ११ वजे काठमाण्डौंबाट विराटनगर आउने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ । नेकपा एमालेका नेता जीवन घिमिरेले लेख्नु भएको ‘कमरेड हिजो र आज’ पुस्तकको विमोचन, सम्मान कार्यक्रमका साथै खेलसँग सम्वन्धीत अन्य कार्यक्रममा सहभागि हुन सभामुख विराटनगर आउन लाग्नु भएको हो । विमोचनका अवसरमा पुस्तकमा समेटिएका मुख्यपात्रहरुलाई सभामुख घिमिरेले सम्मान गर्ने कार्यक्रम रहेको छ ।

विमोचनका अवसरमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, विराटनगर १ की माधवी रिमाल, रामप्रसाद देवकोटा, हर्क चुम्वे, स्व.रमाप्रसाद रिजाल लगायतलाई विशेष सम्मान गरिने भएको लेखक घिमिरेले बताउनुभयो । एमाले केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्व मन्त्री घिमिरेले वि.सं २०३६–०४६ सम्मको आन्दोलनलाई समेटेर पुस्तक तयार गर्नु भएको हो ।

पार्टी राजनीतिकसँग जोडिएका घटनाहरु, सो घटनामा संंलग्न करिव ४ सय पात्रहरुका विषयहरु पुस्तकमा समेटिएको लेखक घिमिरेले बताउनुभयो ।