विराटनगर २८ पुस । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले आइतबार प्रदेशसभाको छठौँ एवं हिँउदे अधिवेशन आह्वान गर्नु भएको छ ।
खापुङले आगामी माघ ७ गते दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गर्नुभएको हो । प्रदेशको आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय लिएको थियो । मन्त्रिपरिषद्को सोही सिफारिसका आधारमा संविधानको धारा १८३ को उपधारा (१) बमोजिम खापुङले प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी सम्पूर्ण थापाका अनुसार माघ ७ गते दिउँसो २ बजे बैठक बस्ने गरी अधिवेशन आह्वान भएको छ । प्रदेशसभाको पाँचौं अधिवेशन असोज ४ गते अन्त्य भएको थियो । अधिवेशनमा संसदको २१ वटा बैठक बसेको थियो । त्यसको ४ महिनापछि छैटौँ अधिवेशन आह्वान भएको हो ।