कोशी प्रदेश सरकारकाे लगानी सम्मेलन सर्याे, बैशाखमा हुने

विराटनगर २५ पुस । कोशी प्रदेश सरकारले लगानी सम्मेलन आगामी बैसाख १८ र १९ गते गर्ने भएको छ ।

यस अघि माघ ११, १२ र १३ गते गर्ने निर्णय गरिए पनि तयारी पुरा नभएपछि लगानी सम्मेलनको मिति सारिएको हो ।

आज बसेको कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले लगानी सम्मेलन सार्ने निर्णय गरेको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार परियोजनाहरूको सोकेसिङ, कानुनको संसोधन र खरिद प्रकृया मार्फत् काम गर्नका लागि समय अभाव भएकाले लगानी सम्मेलन सार्ने निर्णय गरिएको हो ।

उहाँले कतिपय कानुन र नीति संसोधनका लागि केन्दीय सरकारकोसमेत सहयोग चाहीने भएकाले सम्मेलन सार्नुपरेको बताउनुभयो ।

कोशी प्रदेश सरकारले करिब १ खर्बको लागानी भित्र्याउने गरि लगानी सम्मेलनको तयारी गरिरहेको छ ।

चालु आवको नीति तथा कार्यक्रम र बजेट मार्फत् लगानी सम्मेलन गर्ने गरि तयारी गरेर सरकारले काम गरिरहेको छ ।

लगानी सम्मेलनका लागि विभिन्न समितीहरू र सचिवालय गठन भइसकेको छ ।

अबको समय पर्याप्त भएको र तयारीको चरण पनि केही हद सम्म पुरा भइसकेकाले लगानी सम्मेलन भव्य रूपमा सम्पन्न हुने मन्त्री भण्डारीले बताउनुभयो ।

उहाँले प्रदेशसभाको अधिवेशन माघको पहिलो साता गर्ने गरी छलफल अघि बढेको, अघिल्लो मन्त्रिपरिषद्को बैठक र आजको मन्त्रिपरिषद्को निर्णय बमोजिम आगामी सोमबार भित्र प्रदेशसभामा ६ वटा विधेयक पुग्ने जानकारी दिनुभयो ।