योजना संकलन गर्न प्रदेश १ का मन्त्रीहरु जिल्ला भ्रमणमा

विराटनगर, १३ जेठ । प्रदेश १ का मन्त्रीहरु जिल्ला भ्रमणमा निस्किएका छन् । १४ जिल्लामा १३ मन्त्री र योजना आयोगका उपाध्यक्ष आगामी आर्थिक वर्ष २०७९–०८० को करिव ३६ अर्ब हाराहारीको बार्षिक बजेट तथा कार्यक्रम तर्जुमाका लागि शुक्रबार योजना संकलन गर्दैछन् ।

१४ वटै जिल्लाको सदरमुकाममा शुक्रबारका लागि कार्यक्रम राखिएको छ । मोरङमा मुख्यमन्त्री राजेन्द्रकुमार राईको उपस्थितिमा छलफल कार्यक्रम राखिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री आङ्बो उदयपुर जानेछन् ।

स्वास्थ्य मन्त्री जयराम यादव ओखलढुंगा, सञ्चार तथा यातायात मन्त्री उपेन्द्र घिमिरे सोलुखुम्बु, सामाजिक विकास मन्त्री राजन राई ताप्लेजुङ, सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाङ्फे तेर्हथुम, खानेपानी सिँचाइ तथा उर्जा मन्त्री रामकुमार राई झापा, कृषि मन्त्री झलकबहादुर मगर खोटाङ, वन वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापा संखुवासभा, पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बू पाँचथर, उद्योग श्रम तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङ्गाम धनकुटा, सडक पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्की भोजपुर, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगी सुनसरीको कार्यक्रममा सहभागी बताईएको छ ।

इलामको कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष पूर्णकुमार लोक्सम सहभागी हुनेछन् । प्रदेश सरकारले जेठ १६ गतेबाट प्रदेशको अन्तिम तथा बजेट अधिवेशन बोलाएको छ ।