ग्रामथानकाे अध्यक्षमा १६ जनाकाे उम्मेदवारी

विराटनगर २ मंसिर। मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि १६ जनाको उम्मेदवारी परेको छ । दल बलसहित पुगेर उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् । दलबाट १५ र स्वतन्त्रबाट १ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतकाे  कार्यालयले जनाएको छ ।

मनोनयन दर्ताका लागि आइतबार बिहान १० देखि साँझ ५ बजेसम्मको समय तोकिएको थियो । उम्मेदवारी दर्ता गराउनेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दिनेशकुमार थन्दार (दिवेश), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट नवीनकुमार विश्वास, नेकपा (एमाले)बाट तुलसीराम विश्वास, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट धर्मेन्द्रकुमार चौधरीको उम्मेदवारी परेको छ ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र)बाट नमोनारायण माझी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट पर्शुराम विश्वास थारु, नेपाली कांग्रेसबाट बलराम सरदार, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर विश्वकर्मा, कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहर, जसपा नेपालबाट सुरेशकुमार राजवंशी र समावेशी समाजवादी पार्टी नेपालबाट बाेधनारायणा माझीले मनोनयन दर्ता गराएका छन् ।

नमनारायण चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । अध्यक्षमा एमालेबाट चौधरीसहित ११ जना आकांक्षी थिए । पार्टीले तुलसीराम विश्वासलाई टिकट दिएपछि असन्तुष्ट बनेका उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

२०७९ सालको स्थानीय तह चुनावबाट ग्रामथानको अध्यक्षमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । उनको गत असार ३ गते निधन भएसँगै रिक्त रहेको अध्यक्ष पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुदैछ ।