विराटनगर १२ कात्तिक । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई मेन्स यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती र लुम्बिनी प्रदेशले विजयी भएका छन् । प्रतियोगिताअन्तर्गत सोमबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई १ सय रनले पराजित गर्दै विजयी भयो । गण्डकीले टस जितेर पहिलो ब्याटिङको मौका बागमतीलाई दिएको थियो ।
बागमतीले ५० ओभरमा ५ विकेट गुमाउँदै २२९ बनायो । जसमा नटआउट हुँदै नितेश कुमारले ५३ रन, उत्तम मगरले ४० रन, रिङजिङ लामाले ३९ रन, गोकुल अधिकारीले ३६ रन, रोशन विश्वकर्माले २६ र सुर्याङसु कोइरालाले २० रन बनाए ।
गण्डकीका किरण भट्टराईले ३, सुदीप अर्याल र अपराजित पौडेले १–१ विकेट लिए । २३० रनको लक्ष्य पछ्याएको गण्डकीले ३६ ओभरमा सबै विकेट गुमाउँदै १२९ रन बनायो । जसमा अर्जन कुमारले ३१, सिब्रिन श्रेष्ठले २९, रोहित चन्दले २१ र सुजन गौतमले १६ रन बनाए । बागमतीका दिनेश विष्ट र दीपक सेरलाले ३–३, दयानन्द मण्डलले २ र रोशन विश्वकर्माले १ विकेट लिए । प्लेयर अफ द म्याच बागमतीका नितेश कुमार भए । गण्डकीको २ खेलमा २ अंक छ भने बागमती १ खेलबाट २ अंक जोडेको छ ।
त्यसैगरी, मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आजै भएको अर्काे खेलमा लुम्बिनीले सुदूपश्चिम प्रदेशलाई ४१ रनले हराएको छ । सुदूरपश्चिमले टस जितेर पहिलो ब्याटिङको मौका लुम्बिनी प्रदेशलाई दिएको थियो । पहिलो ब्याटिङ गरेको लुम्बिनीले ३८ ओभर ५ बलमा सबै विकेटको क्षतिमा १५६ रन बनायो । जसमा धिरस सुनारले ३८ रन, निर्मल गुरुङले २७, सम्राट भुसाल र निर सार्कीले २५–२५ रन बनाए । सुदूरपश्चिमका हेमन्त धामी, युवराज खत्री र अशोक धामीले समान ३–३ विकेट विकेट लिए । १५७ रनको विजयी लक्ष्य पाएको सुदूरपश्चिम ३५ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ११५ रन मात्रै बनाउन सक्यो ।
जसमा युवराज खत्रीले २२, कैलाश एरले २१, नरेन भट्ट र प्रकाश पाण्डेले १३–१३ रन बनाए । लुम्बिनीका रमेश कर्मीले ५, सन्तोष यादवले ४ र आकाश त्रिपाठीले १ विकेट लिए । प्लेयर अफ द म्याच लुम्बिनीका रमेश कर्मी भए ।
लुम्बिनीले २ खेल जित्दै ४ अंक बनाएको छ । मंगलबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा सुदूरपश्चिम र कर्णाली प्रदेश तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा मधेस र बागमती प्रदेशबीच खेल हुनेछ ।