राष्ट्रिय एकतालाई बलियो बनाउन आवस्यक : पूर्वराष्ट्रपति भण्डारी

विराटनगर, ५ असोज । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकतालाई मजवुत बनाउन मदन भण्डारी फाउण्डेशन लाग्नु पर्ने बताउनु भएको छ ।

मदन भण्डारी फाउण्डेशन कोशी प्रदेशद्वारा आयोजित ‘जवज मार्गदर्शनमा सुशासन र समृद्धि : अवसर र चुनौती’ विषयक दुई दिने कार्यशाला गोष्ठीको शुक्रबार विराटनगरमा उद्घाटन गर्दै उहाँले राष्ट्रियता र स्वाधिनतालाई बलियो बनाउने भूमिका फाउण्डेशन लाग्न आग्रह समेत गर्नु भयो । पूर्व राष्ट्रपति भण्डारीले जनताको वहुदलीय जनवाद(जवज)एवं जनताको विश्वास र अधिकारका कारण गणतन्त्रमा स्थानीय निकायदेखि राष्ट्रपतिसम्मको पद प्राप्त गर्न सकिएको धारणा राख्नु भयो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मदन भण्डारीको सफल नेतृत्वको कारण मुलुमा प्रजातान्त्रिक र वामपन्थि वीचको एकताले विस २०४६ को आन्दोलन सफल भएको बताउनु भयो । उहाँले मुलुकमा विकास र समृद्धि एवं जनतालाई रोजगार बनाउन फाउण्डनेशनले आवश्यक सुझाव दिन आग्रह गर्नु भयो । मुख्यमन्त्री कार्कीले मुलुकमा आर्थिक चलायमान बनाउन पूर्व मेची देखि पश्चिम महाकालीसम्मका नेपाली जनताले भारतमा खरीद गर्ने कार्यको अन्त्यका लागि स्वदेशमा विक्री करमा केही छुट दिन सङघीय सरकारलाई आग्रह गर्नु भयो ।

नेकपा एमाले कोशी प्रदेशका इन्चार्ज एवं पूर्व मुख्यमन्त्री शेरधन राईले सबैजातजातिका भाषा, संस्कृति एवं भेषभुषाको संरक्षण गरी हामीले नेपाली पहिचान कायम गर्नुपर्ने सुझाव दिनु भयो । फाउण्डेशनका प्रदेश अध्यक्ष गोपाल गुरागाई, नेकपा एमालेका प्रदेश अध्यक्ष घनश्याम खतिवडा र फाउण्डेशनका उपाध्यक्ष विजय राईले फाउण्डेशनले जनताका वीचमा कार्य गरिरहेको जानकारी दिनु भयो ।

कार्यक्रममा एमाले उपाध्यक्ष गुरु बराल, केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरे लगायत कोशी प्रदेशका १४ जिल्लाका नेता तथा कार्यकर्ताहरुको को सहभागिता छ । गोष्ठि आज सकिदैछ ।