कोशी प्रदेशका १३७ वटै स्थानीय तहमा श्रम बजार सूचना प्रणाली शुरु

विराटनगर १२ भदौ । कोशी प्रदेशका १३७ वटै स्थानीय तहमा श्रमबजार सूचना प्रणाली शुरु भएको छ । रोजगारीको खोजी गरिरहेका युवा र रोजगारदातालाई एकै ठाउँमा जोड्ने गरी तयार पारेको श्रम बजार सूचना प्रणाली कोशी प्रदेशका १३७ वटै स्थानीय तहमा सञ्चालनमा आएको हो ।

श्रम बजार सूचना स्थानीय तहमा सञ्चालनमा आएपछि कोशी प्रदेशका रोजगार सेवा केन्द्रहरुलाई श्रमसंसार सूचना प्रणाली सम्वन्धी विराटनगरमा आज अभिमुखीकरण गरिएको छ । सवै स्थानीय तहको सहभागितामा अभिमुखीकरण गरिएको हो ।

नेपाल सरकार, प्रधानमन्त्री रोजगार कार्यक्रम र स्वीस कन्ट्याकको समन्वयमा स्टेपअप परियोजनाले गरेको प्रदेश स्तरिय अभिमुखीकरण कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले कोशी प्रदेशबाट रोजगारीको खोजी गरिरहेका युवा र रोजगारदातालाई एकै ठाउँमा जोड्ने गरी शुरु भएको कार्यक्रमलाई देशव्यापी बनाईने बताउनुभयो । मन्त्रालयले रोजगारदाताहरुलाई एकै ठाउँमा जोड्नेगरि प्राविधिक समितिले काम गरिरहेको बताउनुभयो । मन्त्री भण्डारीले भन्नुभयो,‘ कोशी प्रदेश सरकारले स्वामीत्व लिएर प्रदेशभर सञ्चालन भएको कार्यक्रमलाई संघीय सरकारले पनि श्रमसंसार सूचना प्रणालीलाई चाँडै स्वामीत्व लिने छ ।’

श्रमसंसार सूचना प्रणालीले स्थानीय स्तरमा दिएको सुविधाबारे समय–समयमा अन्तक्रियागरि रोजगारीको खोजिमा रहेकाहरुलाई जानकारी दिन आवस्यक रहेकोमा उहाँले जोड दिनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई चाँडै आन्तरिक रोजगार महाशाखा बनाईने मन्त्री भण्डारीले जानकारी दिनुभयो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदाता र रोजगारी खोजिरहेकाहरु वीच समन्वय गर्ने मन्त्री भण्डारीले बताउनुभयो । कोशी प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयको श्रम सूचना केन्द्र मातहतमा रहने गत पुसमा एप सञ्चालनमा ल्याएको थियो ।

सूचना प्रणालीमा हालसम्म ३ हजार ५ सय आवेदन परेको र २ सयले रोजगारी पनि पाईसकेको बताईएको थियो । प्रणालीमा १७० रोजगारदाताहरु जेडिएका छन् । यसअघि पहिलो चरणमा विराटनगर महानगरपालिका, सुनसरीको दुहबी नगरपालिका र इटहरी नगरपालिका यस सूचना प्रणालीमा आबद्ध भएका थिए ।