विराटनगर, ११ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ५६ औं संस्करणको राधाकृष्ण रथयात्राको शुभारम्भ गर्नु भएको छ । राधाकृष्ण मन्दिर विराटनगर–१ पानीटंङीबाट निकालिएको राधाकृष्ण रथयात्राको आज दिउँसो शुभारम्भ गर्नु भएको थियो ।
मुख्यमन्त्री कार्कीले रथमा राखिएको भगवान राधाकृष्णको मूर्तिमा पूजाअर्चना गर्नु भएको थियो । शुभारम्भ कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की, प्रदेश सभा सदस्य भीम पराजुली, मोरङका प्रमुख प्रेमप्रसाद भट्टराईले भगवान राधाकृष्णको पूजाअर्चना गर्नु भएको थियो । रथयात्रा नगरको नौ किलोमिटर परिक्रमा पछि पुनः मन्दिरमा विसर्जन गरिने छ । यात्राको क्रममा नेपाली सेनाको हेलिकप्टरले पुष्पबृष्टि गर्नुका साथै ड्रोन र सिसि क्यामरा सुरक्षा व्यवस्था कायम गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिनु भयो ।
पेगोडा शैलीमा बनाइएको उक्त रथको लम्वाई २२ फिट, चौडाई १४ र उचाइ १८ फिट रहने छ भने रथको अग्रभागबाट ७५ फिट लम्वाईका दायाँ र बायाँ पट्टि फैलिएका लठृा(डोरी)लाई पुरुष र महिला भक्तजनहरुले रथलाई तानी सञ्चालन गरेका छन् । रथको अग्रभागमा विभिन्न धार्मिक, जातजाति,सम्प्रदायका संस्कृति झल्कने झाँकी एवं भजन मण्डलीहरु रहेको रथयात्रा समारोहका अध्यक्ष कैशाल रेग्मीले जानकारी दिनु भयो ।रथयात्रा नगर क्षेत्रका ४३ स्थान विश्राम गरि मन्दिर परिसरमा पुग्ने ।
रथयात्राको अवलोकनका लागि मोरङ, सुनसरी, झापा, सप्तरी र सीमावर्ती भारतीय जिल्लाका समेत गरि करीव सात लाख भक्तजनहरुको सहभागिता रहेको अनुमान आयोजक समितिले जनाएको छ । विस १९८८ देखि खटयात्रा र विस २०२७ सालबाट रथयात्रा निकालिएको अध्यक्ष रेग्मीले जानकारी दिनु भयो ।
नगर क्षेत्रमा विभिन्न स्थानमा दाताहरुले चिसो पानी, सर्वतको व्यवस्था गरेका छन् । यसैगरी सडकको दुवै किरानमा राखिएको विभिन्न मिठाईका पसलमा खरीद गर्ने उपभोक्ताहरुको भीड लागेका छन् । विराटनगरमा निकालिएको यो यात्रा भारतको जगन्नाथ पुरी पछिको दोस्रो ठुलो रहेको आयोजकको दावी छ ।