विराटनगर ३ भदौ । दुई महिनामा बाढी पहिरोलगायतका विपद्मा परेर १९० जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीका अनुसार, सोमबार दिउँसोसम्म विभिन्न विपद्मा परेर काठमाडौं उपत्यकामा ३, कोशी प्रदेशमा २७, मधेश प्रदेशमा ८, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १५ जनाको मृत्यु भएको छ ।
देशभर २३८ जना घाइते छन् । उनीहरुलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । प्रहरीले विपद्का कारण जोखिममा परेका ११४ जनाको उद्दार समेत गरेको छ ।
बाढी पहिरोमा परेर देशभर ४९ जना बेपत्ता छन् । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । बाढी पहिरोका कारण ३ सय २७ वटा घर, १ सय १२ वटा गोठ, ५१ वटा पुल, ४ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।
८ सय ५२ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार ८ सय १९ घर परिवार विस्थापित भएको प्रहरीले उल्लेख गरेको छ ।