लोकगायक एलपी जोशीको निधन

विराटनगर ११ साउन । लोकगायक एलपी जोशी (लक्ष्मीप्रसाद जोशी) को ८८ वर्षको उमेरमा विहीबार साँझ निधन भएको छ । झापा विर्तामोडस्थित अस्पताल लैजाँदै गर्दा निधन भएको परिवार स्रोतले जनाएको छ ।

वि.सं.१९९३ सालमा धनकुटा ६ बिचबजारमा जन्मिनु भएका जोशीले जीवनभर लोकसंस्कृतिको क्षेत्रमा योगदान पुर्याएका थिए । २०२० साल पहिल्यै अधिकांश गीत रेकर्ड भएका थिए । २०२२ देखि २०२९ सालसम्म रेडियो नेपालमा जोशी र जनकवि केशरी धर्मराज थापाका गीतले एकछत्र राज गरेको थियो ।

२०११ सालदेखि थापासँग नजिकिएका उहाँ गाउँ बस्तीका मौलिक गीतको खोजीमा जुट्दै हिँड्नु भयो । त्यसै मेसोमा रिटिङ रिटिङ…बोलको गीत संकलन गरियो । २०५३ सालमा आइपुग्दासम्म म्युजिक नेपालबाट रिटिङ रिटिङ नामको गीति एल्बम निकाल्नु भएको थियो । उहाँले गाएको अर्काे लोकप्रिय ‘वल्लो खोलो हो पल्लो खोलो कमिलाको गोलो भनेर…’ बोलको गीतले धेरैको मन जितेको थियो ।

२०१९ सालमा तत्कालीन राजा महेन्द्रलाई उहाँले गीत सुनाउनु भएको थियो । जोशीको दाहसंस्कार झापाको कन्काइ माइमा शुक्रबार ११ बजे गरिने जनाइएको छ ।

जोशी छोरा मिलन र परिवारका सदस्यका साथ दमकमा रहेका थिए ।