विराटनगर ८ : १८१ ज्येष्ठ नागरिकको दन्त परीक्षण, १६ जनालाई पूर्ण सेट दाँत लगाईयाे

विराटनगर २४ असार । विराटनगर महानगरपालिका–८ का १६ जना ज्येष्ठ नागरिकले पूर्ण सेट दाँत लगाएका छन् । वडा कार्यालयले आयोजना गरेको निःशुल्क दन्त शिविरमा १२९ जनाले परीक्षण गराएका छन् । परीक्षण गराएका मध्ये ८२ जनाले दाँत भरेका छन् । वडा कार्यालयमा आज गरिएकाे शिविरमा ५२ जना ज्येष्ठ नागरिकले सेवा लिएका छन् । कार्यक्रमको शुरुवात ९३ बर्षीय नगेन्द्र नेपालको दन्त परीक्षण गरि शुरु गरिएको थियो ।

जीवन विकास पब्लिक हेल्थ सेन्टरसँगको सहकार्यमा आयोजित निःशुल्क दन्त शिविरमा १६ जनाले दाँतको पूर्ण सेट लगाएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । निशुल्क दन्त परीक्षणको सेवा वडा कार्यालयले गरेकोमा दुर्गा पौडेलले खु्शी व्यक्त गर्नुभयो । दन्त परीक्षणका लागि अस्पताल पुग्दा पहिले धेरै हैरानी व्यहोर्नु परेको उहाँले सुनाउनुभयो । कार्यक्रममा कार्यपालिका सदस्य ताराकुमारी राय, वडासदस्यहरु पवित्रा विक, मो. अब्बास, भुवन राजवंशी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा वडा सदस्यहरु यसअघि आयोजित शिविरमा १२९ जेष्ठ नागरिकको दाँत जाँच गरिएको थियो । दुई चरणमा सम्पन्न दन्त परीक्षणमा गरि १८१ जनाले सेवा पाएका छन् ।

६० बर्षमाथिका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै दन्त शिविर संचालन गरिएको वडाध्यक्ष पोखरेलले बताउनुभयो । सबै ज्येष्ठ नागरिकको दन्त परिक्षण गरिने र आवश्यक पर्ने सबैलाई फुलसेट दाँतसहित निःशुल्क औषधी पनि वितरण गरिने वडाको योजना रहेको उहाँले बताउनुभयो ।

वडा कार्यालयले ८० वर्षमाथिका ज्येष्ठ नागरिकहरूको घरमै पुगेर नियमित स्वास्थ्य परिक्षण पनि गर्दै आएको छ ।