कोशी चलचित्र महोत्सव जेठ ६ देखि

विराटनगर ३ जेठ । कोशी चलचित्र महोत्सव आगामी जेठ ६ गतेदेखि हुने भएको छ । कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा जेठ ६ देखि ११ गते सम्म महोत्सव हुने भएको हो ।

कोशी प्रदेशमा निर्माण भएका चलचित्रहरुमा कोशी प्रदेशको कला, संस्कृति तथा मनमोहक स्थलहरुको जानकारी दिने र चलचित्र क्षेत्रमा लगानी बृद्धि एवं चलचित्र क्षेत्रको विकासमा गर्नुपर्ने कामहरुको विषयमा जानकारी दिने उद्देश्यले प्रदेश सरकारले पहिलो पटक महोत्सव गर्न लागेको मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कमल थापाले जानकारी दिनुभयो । महोत्सवको उद्घाटन जेठ ६ गते झापाको विर्तामोडमा हुने भएको छ ।

उद्घाटनका दिन सांस्कृतिक कार्यक्रम र चलचित्र प्रर्दशन गरिने उहाँले बताउनुभयो । जेठ ७ गते विराटनगरमा चलचित्र प्रदर्शन, कोशी प्रदेशमा चलचित्र निर्माणबारे अन्तरक्रिया, आरोहण गुरुकुल विराटनगरमा स्टल, जातिय खाना, जेठ ७ देखि ९ गते सम्म विर्तामोडमा चलचित्र प्रदर्शन, अन्तरक्रिया, सांस्कृतिक कार्यक्रम हुने तय भएको प्रवक्ता थापाले बताउनुभयो । उहाँका अनुसार इटहरी, विराटचोक, झुम्कामा चलचित्र प्रर्दशन गरिने छ । महोत्सवको समापन विराटनगरमा हुने बताईएको छ ।

महोत्सवमा लघु, कथानक चलचित्र, बृत्त गरि ४४ वटा चलचित्र प्रर्दशन गरिने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । चलचित्र महोत्सवका लागि प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको छ ।

चलचित्र क्षेत्रको विकास र प्रोत्साहनलाई टेवा पुर्याउने किसिमले गतिविधि गर्न सके कोशी प्रदेशलाई चलचित्र पर्यटन क्षेत्रको प्रमुख गन्तव्य स्थलका रुपमा विकास गरेर नमूना प्रदेशका रुपमा स्थापित गर्न सकिने मन्त्रालयका प्रवक्ता थापाले बताउनुभयो ।