प्रगतिलाई बढाउनेगरी काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन

विराटनगर १९ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले न्यून प्रगतिलाई बढाउनेगरी काम गर्नको लागि निर्देशन दिनुभएको छ ।

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशीले आयोजना गरेको प्रदेश मन्त्रालय स्तरीय विकास समस्या समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले बजेट प्रगति न्यून भएकाले अन द स्पोर्ट कार्यालयमा नै गएर छलफल गरी कार्य प्रगति बढाउन निर्देशन दिनुभयो ।

मुख्यमन्त्री कार्कीले दुई तीन वर्षदेखि निरन्तर बजेट राखिने तर त्यो कार्यान्वयन नहुने अवस्था भएमा तत्कालै हटाउन पनि निर्देशन दिनुभयो । उहाँले भन्नुभयो ‘एउटै काम पनि घनचक्कर, जस्तो घुमिरहने तर प्रगति नहुने अवस्थाको अब अन्त हुनुपर्छ ।’ उहाँले मन्त्रालयभित्रकै कमीकमजोरीहरूलाई चाँडोभन्दा चाँडो हटाएर कामलाई द्रुत गतिमा अगाडि बढाउन आग्रह गर्नुभयो ।

कर्मचारी राजनीतिज्ञ र स्थानीय तहले समस्यालाई ठिक ढंगले बुझ्न नसक्दा पनि समस्या भएको चर्चा गर्दै यी सबै क्षेत्रले आफ्नो अधिकार र कामलाई बुझेर अगाडि बढ्न सके प्रगति हुने उहाँले दाबी गर्नुभयो । उहाँले प्रदेशलाई केन्द्रले पनि सहयोग नगरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ कुनै पनि विषयमा प्रदेशमा पटकपटक छलफल हुन्छ र त्यो विषय केन्द्रमा पनि छलफल गरिन्छ हुन्छ भन्नुहुन्छ तर हुँदैन यसले पनि काम गर्न गाह्रो भइरहेको छ ।’

यातायातको अधिकार प्रदेशमा छ तर यहाँको यातायातबाट उठेको जरिवाना केन्द्र सरकारले लैजान्छ । २०७५ सालदेखि यही कुरा उठाइरहेका छौं तर केन्द्रले सुन्दैन, उहाँले भन्नुभयो । त्यस्तै लाइसेन्स छपाईको अधिकार पनि प्रदेशमा छ । तर केन्द्रले त्यसलाई पनि सहज रुपले हस्तान्तरण गर्दैन । यसका कारण पनि समस्या रहेको मुख्यमन्त्री कार्कीले बताउनुभयो ।

बैठकमा कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्र पौडेलले ऐन कानुन संशोधन र पुनर्निर्माण र सेवा प्रवाहलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।