विराटनगर २४ वैशाख । कोशी प्रदेश सरकारले पत्रकारिता दिवसको अवसरमा आज पाँच जना अग्रज पत्रकारहरुलाई सम्मान गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित पत्रकारिता दिवस तथा पत्रकार सम्मान कार्यक्रममा अनवरत रुपमा २५ वर्ष भन्दा वढी पत्रकारिता गरेका विभिन्न जिल्लाका पाँच जना सञ्चारकर्मीहरुलाई नगद एक लाख सहित सम्मान एवं पुरस्कृत गरिएको छ ।
यसरी सम्मानित हुनेहरुमा अनन्तराज न्यौपाने(मोरङ), भीमलाल नेम्वाङ (झापा), रमेशचन्द्र अधिकारी ( धनकुटा), महेश्वर चाम्लिङ राई (उदयपुर) र प्रेमबहादुर दियाली (सुनसरी ) हुनुहुन्छ । प्रदेशका मुख्यमन्त्री केदार कार्की सम्मानित पत्रकारहरुलाई पुरस्कृत गर्दै समाजलाई निरन्तर चेतना छर्ने, सरकारलाई खवरदारी एवं स्वस्थ्य आलोचना गर्ने र जनतालाई परिवर्तनको वाटो देखाउने कार्य सञ्चारमाध्यमले गर्ने हुनाले यसलाई राज्यको चौथो अङ्ग भनेको बताउनु भयो । उहाँले व्यवस्थालाई परिवर्तन गर्न गोलीदेखि नडराउने, लोकतन्त्र स्थापनामा ठूलो भूमिका निर्वाह गरेका पत्रकारहरुलाई सम्मान गर्न पाउँदा समग्र पत्रकारिता क्षेत्रलाई सम्मान गरेको महशुस गरेको अनुभूति भइरहेको धारणा राख्नु भयो ।
मुख्यमन्त्री कार्कीले श्रमजीवी पत्रकारको, दक्षता र क्षमता वढाउने कार्यमा आवश्यक योगदान दिन सरकार तयार रहेको विचार राख्नु भयो । उहाँले संचारकर्मीहरुको सुरक्षाको जिम्मेवारी सरकारले लिने बताउँदै आगामी प्रदेश सभा अधिवेशनमा संचार विधेयक ल्याउने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।
मुख्यमन्त्री कार्कीले केही महिना अगाडि गोताखोर तालीम समापन समाहोमा सप्तकोशी नदीमा डुङ्गा दुर्घटनामा घाइते पत्रकार र अन्यलाई उपचार खर्च र क्षतिपूर्ति दिने सम्बन्धमा सकारात्मक रहेको जानकारी दिनु भयो । स्वास्थ्यमन्त्री प्रदीपकुमार सुनवारले समाजमा रहेका विकृति हटाउन, मुलुकमा सशासन र समृद्धि ल्याउन सञ्चारकर्मीले कलम चलाउन आग्रह गर्नु भयो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले सूचनाको हक प्रति सरकार सम्वेदनशील रहेको छ भन्दै कुनै सुचना नलुकाउनुका साथै पारदर्शी ढङ्गले कार्य गरिरहेको बताउनु भयो ।
नेपाल पत्रकार महासंघ कोशीका कार्यवाहक अध्यक्ष लवदेव ढुङगाना, मन्त्रालयका सचिव लक्ष्मी प्रसाद पौडेल,उप सचिव कमल थापा पुरस्कृत पत्रकार रमेशचन्द्र अधिकारीले सम्मानले आगामी दिनमा थप उर्जाशिल भै प्रदेश र लक्षित वर्गको समृद्धि र विकासमा थप कमलको माध्यमले सहयोग पुर्याउने धारणा राख्नु भयो ।