स्थिर सरकार बिना मुलुकको आर्थिक विकास असम्भव : कोइराला

विराटनगर १६ वैशाख । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थिर सरकार बिना मुलुकको आर्थिक विकासले फड्को नमार्ने बताएका छन् ।

मोरङका बूढीगंगा गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभाका सांसदसमेत रहेका नेता कोइरालाले स्थिर सरकार र सुशासनका लागि अहिलेको निर्वाचन प्रणालीलाई संशोधन गर्नुपर्नेमा जोड दिए । उनले स्थिर सरकार नभएकै कारण सोचजस्तो मुलुकको विकास हुन नसकेको उनको तर्क थियो ।

अहिलेको निर्वाचन प्रणाली रहेसम्म स्थिर सरकार बन्न नसक्ने कोइरालाले बताए । “अहिलेको निर्वाचन प्रणाली रहेसम्म कुनै पनि दलले बहुमत ल्याउने अवस्था छैन । बहुमत नआउँदा अहिलेकै जस्तो सरकार बनाउने र गिराउने खेल चलिरहन्छ । जसले गर्दा मुलुकको विकासमा अवरोध पुग्दछ,” नेता कोइरालाले भने, “सरकार फेरिएपिच्छे ‘पोलिसी’ पनि फेरिन्छ ।

सरकारले आफ्नो अनुकूलको पोलिसी बनाउँदा समस्या आउँछ । अन्य देशमा सरकार परिवर्तन भए पनि पोलिसी भने एउटै हुने गरेको छ । जसले गर्दा सरकार फेरिँदा विकासमा खासै असर पर्दैन ।”

स्थिर सरकार बनाएर सुशासन दिन सकिए देशको विकासले गति लिने उनको दाबी थियो । देशको विकासका लागि संविधान संशोधन गर्न कांग्रेस र एमाले एक ठाउँमा उभिनुपर्नेमा कोइरालाले जोड दिए ।

कांग्रेस र एमाले एकठाउँमा नभिएसम्म संविधान संशोधन नहुने उनको विचार थियो । “अहिलेको संविधान संशोधन गर्न दुई तिहाई आवश्यक पर्छ । त्यो कांग्रेस र एमाले मिल्दा मात्रै सम्भव छ,” उनले थपे, “कांग्रेस र एमाले मिलेकै कारण संविधानसभाबाट संविधान जारी भयो । अब देशलाई केन्द्रबिन्दुमा राखेर दुईटा दल मिल्नुपर्छ । प्रधानमन्त्री को बन्छ भन्ने कुरा ठूलो होइन । देउवाजी, ओलीजी, माधवजी, प्रचण्डजी, झलनाथजी, बाबुरामजीहरू पटक–पटक प्रधानमन्त्री बन्नुभयो, आखिर उहाँहरूले के गर्नुभयो ? प्रधानमन्त्री को बन्ने भन्ने विषय गौण हो । दुई दल मिलेर देशलाई निकास दिनुको विकल्प छैन ।”

मुलुक आर्थिक, सामाजिक, राजनैतिक, धार्मिक र सांस्कृतिक रुपमा कमजोर बन्दै गएको भन्दै नेता कोइरालाले चिन्ता व्यक्त गरे । कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले अधिकारसहितको संघीयता नभएकै कारण जनतामा प्रदेशप्रति वितृष्णा बढेर गएको बताए । उनले स्थिर सरकार बाउन निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्नेमा जोड दिए । स्थिर सरकार नबनेकै कारण देशभित्र लगानी गर्न कोही पनि उत्सुक नभएको उनको भनाइ थियो ।

कार्यक्रममा बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर, उपाध्यक्ष अमृताकुमारी गच्छदार, नेपाली कांग्रेस मोरङका कार्यबाहक सभापति भक्तिनाथ माझी, नेकपा एमाले मोरङ क्षेत्र नम्बर ६ का अध्यक्ष मकर बुढाथोकी, बूढीगंगा गाउँपालिकाका पूर्वअध्यक्ष बालचन्द माझीलगायतले स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए ।

स्थानीय योगमाया कार्की र सोहार्द कार्कीले निःशुल्क रुपमा उपलब्ध गराएको ८ कठ्ठा २ धुर जग्गामा गाउँपालिकाको प्रशासनिक भवन निर्माण हुनेछ । बहुवर्षीय योजनाअन्तर्गत ११ करोड ८६ लाख रुपैयाँको लागतमा निर्माण हुने भवन चार तलाको हुने प्रमुख प्रशासकीय अधिकृत संजीव न्यौपानेले जानकारी दिए । भवन निर्माण गर्न गाउँपालिकाले चालु आर्थिक वर्षमा २ करोड रुपैयाँ विनियोजन गरेको छ ।