कोशी प्रदेश सरकारमा चाँडै दावी पेश गर्छौ : पूर्वमुख्यमन्त्री कार्की

विराटनगर २२ चैत । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश सरकारमा चाँडै दावी गरिने बताउनुभएको छ ।

कोशी प्रदेश सरकारबारे गठबन्धनदलमा छलफल भईरहेको उहाँले बताउनुभयो । प्रेस चौतारी कोशी प्रदेश सल्लाहकार समितिको आज विराटनगरमा सम्पन्न बैठकमा नेता कार्कीले सो कुरा बताउनु भएको हो । एमाले स्थायी कमिटी सदस्य समेत रहनुभएका नेता कार्कीले सरकार बन्ने विकल्प रहुनजेल संसद विघटन नहुने दावी गर्नुभयो ।

कोशी प्रदेश सरकारमा एमाले र माओवादीले दावी गरिरहेका कारण वर्तमान मुख्यमन्त्रीले विश्वासको मत लिने बहानामा एक महिना सरकार लम्वाउन सक्ने पूर्व मुख्यमन्त्रीसमेत रहनु भएका नेता कार्कीको भनाई छ ।

केन्द्रमा सत्तासमीकरण फेरिएलगत्तै अहिले प्रदेश सरकारहरु धमाधम परिवर्तन भईरहेका छन् ।