विराटनगर १८ फागुन । डेढ वर्षदेखि इलाका प्रशासन कार्यालय रंगेली प्रमुखविहीन भएको छ । कार्यालयमा प्रमुख पठाउन गृह मन्त्रालयले ढिलासुस्ती गरेका कारण डेढ वर्षदेखि इलाका प्रशास कार्यालय प्रमुखविहीन भएको हो । कार्यालयमा प्रमुख नहुँदा सेवाग्राहीले सास्ती खेप्दै आएका छन् ।
प्रशासन कार्यालयमा काम लिए आउने सेवाग्राहीले हप्ताको मंगलबार र शुक्रबार मात्रै कार्यालयबाट सेवा प्राप्त गरिरहेका छन् । कार्यालय प्रमुख हुँदा उक्त कार्यालयबाट दैनिकी ७० देखि ८० वटासम्म प्रतिलिपी र नयाँ नागरिकता वितरण गर्दै आएको थियो ।
सो कार्यालयबाट नाबालक परिचयपत्र, जातीय प्रमाणितको सिफारिस, नागरिकता प्रतिलिपी, नयाँ नागरिकता वितरण गर्दै आएको छ । इलाका प्रशासन कार्यालयबाट रंगेली नगरपालिका, सुनबर्सी नगरपालिका, रतुवामाई नगरपालिका, धनपालथान गाउँपालिकाको वडा नम्बर २, ३ र ४ र कानेपोखरी गाउँपालिकाको वडा नम्बर १ बासिन्दाहरुले सेवा लिँदै आएका छन् । तर, डेढ वर्षअघि रहेका कार्यालय प्रमुख उपेन्द्र राईको सरुवा भएपछि सोही कार्यालय रमेश कोइरालालाई निमित्तको जिम्मेवारी दिइएको थियो । कोइरालाको पनि अन्यत्र सरुवा भएपछि सोही कार्यालयका निर्मल खतिवडाले निमित्तको जिम्मेवारी पाएका थिए । उनले ६ महिनाका लागि जिम्मेवारी पाएका थिए । ६ महिनाको म्याद सकिएपछि पुनः ६ महिना थप गरेर कार्यालय सञ्चालन हुँदै आएको थियो । निमित्तका भरमा कार्यालय सञ्चालन हुँदा सेवाग्राहीले सास्ती खेप्दै आएका थिए । खतिवडाको पनि १ वर्षे कार्यकाल समाप्त भएपछि अर्को नयाँ कार्यालय प्रमुख नआउँदा सेवाग्राहीहरुले समस्या भोग्दै आएका छन् ।
करिब १ महिनादेखि जिल्ला प्रशासन कार्याल मोरङ (विराटनगर)बाटै एक जना अधिकृतले मंगलबार र शुक्रबार सेवा दिन थालेका छन् । गृह मन्त्रालयले अधिकृत नपठाउँदै सेवा लिन आउने सेवाग्राहीका काम ढिलोसुस्ती हुने र दुःख सास्ती खेप्न बाध्य हुनु परेको छ ।
गृह मन्त्रालयले अहिलेसम्म इप्रकामा शाखा अधिकृत नपठाउँदा कार्यालयमा काम लिएर आएका सेवाग्राही त्यसै घर फर्कन बाध्य भएका छन् । दरबन्दी अनुसारको अधिकृत नहुँदा इप्रकामा मात्रै नभई जिल्ला प्रशासन कार्यालयमा समेत समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी प्रदीप साहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दरबन्दी अनुसारका अधिकृत नआउँदा समस्या भएको छ । स्वयम् जिल्लामै पनि ४ जनाको दरबन्दीमा २ जना मात्रै अधिकृत हुनुहुन्छ । उहाँहरुबाट काम लिइ रहेका छौं । रंगेली दुर्गम भएकाले पनि होला कोही पनि अधिकृत आउन नमान्नु भएको ।’ रंगेलीमा १ जना अधिकृतको दरबन्दी भए पनि कोही पनि नआउँदा नायवसुब्बाबाट काम चलाउनु परेको छ ।
रंगेलीमा काम नरोकियोस भनेर यहाँबाटै हप्ताको २ दिन अधिकृत पठाएर सेवाग्राहीको काम गरिरहेको उहाँले बताउनुभयो । यहाँबाट कसैलाई पनि निमित्तको जिम्मेवारी दिन नमिल्ने भएको हुँदा गृहमन्त्रालयमा पत्र पठाएको उहाँले जानकारी दिनुभयो ।