विराटनगर १३ फागुन । कोशी प्रदेशमा आजदेखि दादुरा–रुवेला विरुद्धको खोप अभियानको शुभारम्भ गरिदै छ । आजदेखि शुरु हुने अभियान अन्र्तगत कोशी प्रदेशका ९ महिना देखि १५ वर्ष सम्मका ८ लाख ९३ हजार ९३४ जनालाई खोप लगाईने प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । प्रदेश स्तरिय अभियानको शुभारम्भ विराटनगर रानी स्थित जनविकास माविबाट शुरु हुँदैछ ।
कार्यक्रमको कोशी प्रदेशका स्वास्थ्य मन्त्री प्रदीपकुमार सुनुवारले विहान १० वजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कोशी प्रदेशमा फागुन १३ देखि चैत ३ गते सम्म खोप लगाईने कार्यक्रम रहेको स्वास्थ्य निर्देशक बस्नेतले बताउनुभयो । राष्ट्रिय अभियान फागुन १३ देखि चैत ७ गते सम्म भएपनि कोशी प्रदेशमा चैत ३ गते भित्रमा लक्षित जनसंख्यालाई खोप लगाईसकिने तयारी गरिएको उहाँले बताउनुभयो । आज कोशी प्रदेशका तेहृथुम, मोरङ र उदयपुरमा खोप लगाउँदै अभियानको शुभारम्भ गरिने भएको छ ।
अन्य ११ जिल्लाले फागुन १६ देखि २७ गते सम्ममा अभियान शुरुगरि चैत ३ गते भित्रमा सम्पन्न गर्ने लक्ष्य बनाएको निर्देशक बस्नेतले बताउनुभयो । कोशी प्रदेशमा ९ महिना देखि ५९ महिना सम्मको जनसंख्या ३ लाख ६४ हजार ७०६ र ५ वर्ष देखि १५ वर्षको जनसंख्या ५ लाख २९ हजार २२८ रहेको बताउनुभयो । उहाँले लक्षित जनसंख्याको सवैभन्दा बढी झापा, मोरङ र सुनसरीमा खोप लगाउनुपर्ने उहाँले बताउनुभयो । निर्देशक बस्नेतका अनुसार मोरङका लक्षित जनसंख्याको ३१ प्रतिशत, झापा र सुनसरीमा २६–२६ प्रतिशत रहेको छ ।
प्रदेशभरका ८ हजार ३६६ खोपकेन्द्रमा १२ हजार ६१८ स्वास्थ्यकर्मीले खोप लगाउने उहाँले बताउनुभयो । दक्षिणपूर्वी एशियाबाट सन् २०२६ सम्ममा दादुरा–रूबेला निवारण गर्ने लक्ष्य राखिएको छ । सोही अनुसार राष्ट्रियव्यापी अभियान शुरु गर्न लागिएको हो । यसअघि नेपालले सन् २०१९ र पछि सन् २०२३ मा निवारणको लक्ष्य लिएपनि संभव नभएपछि सन् २०२६ लाई निर्धारण गरिएको बताउनुभयो । उहाँका अनुसार सन् २०२२–२०२३ मा नेपालको धेरै जिल्लाहरुमा दादुरा रुबेलाका बिरामी देखा परि महामारी फैलिएपछि २०२६ लाई लक्ष्य निर्धारण गरिएको हो ।
दादुरा रूबेला निवारणका लागि दादुरा खोपको दुवै (पहिलो र दोश्रो ) मात्राको प्रगति सबै तहमा ९५ प्रतिशत भन्दा धेरै भएको हुनुपर्ने आधार र शर्तहरू रहेको छ ।