चम्पादेवीको पराजयप्रति सत्ता गठबन्धनको ध्यानाकर्षण

विराटनगर १२ माघ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट सत्ता गठबन्धनका एक उम्मेदवार पराजय भएकोप्रति सत्ता गठबन्धनले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचन प्रदेश समन्वय समितिले आज विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी चम्पादेवी कार्कीको पराजयप्रति गम्भिर ध्यानाकर्षण भएको जनाईको हो ।

प्रदेश समन्वय समितिले गठबन्धनको निर्णय विपरित मतदान गर्ने जनप्रतिनिधिहरुको छानवीन गरिने जनाएको छ । विज्ञप्तिमा भनिएको छ,‘ गठबन्धनको निर्णय विपरित मतदान गर्ने गठबन्धन दलका गैर जिम्मेवार तथा निकृष्ट जनप्रतिनिधिको छानवीन गरि अनुशासनको दायरमा ल्याउन प्रतिबद्ध छौं ।

कोशी प्रदेशको २ सिटका लागि भएको निर्वाचनमा सत्तागठबन्धनबाट काग्रेसका कृष्ण सिटौला र माओवादी केन्द्रकी चम्पादेवी उम्मेदवार थिए । गठबन्धनबाट सिटौला मात्रै विजयी हुनु भएको थियो । कार्कीलाई एमाले–राप्रपा गठबन्धन उम्मेदवार एमालेकी रुक्मिणी कोइरालाले पराजित गर्नु भएको थियो ।

एमालेकी कोइरालाले ५०८६ मतभार प्राप्त गर्नुभएको थियो । उहाँलाई ४९ प्रदेशसभा सदस्य १३१ स्थानीय तहका प्रमुख उपप्रमुखले मतदान गरेका थिए । माओवादीकी कार्कीले ४९९२ मतभार प्राप्त गर्नुभएको थियो । उहाँलाई ४४ प्रदेशसभा सदस्य र १४० स्थानीय तहका प्रमुख–उपप्रमुखले मतदान गरेका थिए ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा एमाले–राप्रपा गठबन्धनमा प्रदेशसभा तर्फ ४६ र स्थानीय तह तर्फ ११४ र सत्ता गठबन्धनमा प्रदेशसभा तर्फ ४७ र स्थानीय तहतर्फ १५७ मतदाता रहेका थिए । कोशी प्रदेशमा स्थानीय तर्फ ३ जना स्वतन्त्र स्थानीय तह प्रमुख छन ।