विराटनगर २ चैत । विराटनगरका तीन वटा विद्यालयमा मानव बेचविखन विरुद्ध विद्यार्थी लक्षित कार्यक्रम गरिएको छ । विराटनगर महानगरपालिकाकासँगको सहकार्यमा माईती नेपाल मोरङले मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सचेतनामूलक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो ।
अभिमुखीकरण कार्यक्रम विराटनगर १ को राधाकृष्ण भूपालमानसिंह कार्की माध्यमिक विद्यालय, वडा नं. ७ को आदर्श बालिका माध्यमिक विद्यालय तथा वडा नं. ९ को सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन गरिएको माईती नेपाल मोरङका संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुशार कक्षा ७, ८, ९ र १० मा अध्ययनरत २३० जना विद्यार्थीहरू अभिमुखीकरणमा सहभागी थिए ।
कार्यक्रममा विद्यार्थीहरूलाई मानव बेचबिखन तथा ओसारपसारबाट कसरी जोगिने, अपरिचित व्यक्तिसँग कसरी सचेत रहने, सीमाना पार गर्दा अपनाउनुपर्ने सावधानी, साथीहरूसँग बाहिर जाँदा ध्यान दिनुपर्ने कुराहरू तथा मोबाइल र सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षा उपायहरूका बारेमा जानकारी दिइएको माइती नेपालकी मनोपरामर्शदाता गीताञ्जली शर्माले बताउनुभयो ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले कार्यक्रमबाट महत्वपूर्ण जानकारी प्राप्त गरेको प्रतिक्रिया दिएका संयोजक पोखरेलले बताउनुभयो । उहाँका अनुसार यस्ता सचेतनामूलक कार्यक्रमहरूले बालबालिकालाई समयमै सचेत बनाउन तथा मानव बेचबिखनको जोखिमबाट जोगाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ ।
कार्यक्रममा विराटनगर महानगरपालिका महिला, बालबालिका तथा जेष्ठनागरिक महाशाखाका राधिका कार्की, सन्ध्या श्रेष्ठ, सुशिला अधिकारी र सुनिता पौडेलको सहभागिता रहेको थियो ।

