थारु कल्याणकारीणी सभा मोरङको दशौंं जिल्ला अधिवेशन माघ १० गते हुने

विराटनगर ८ माघ । थारु कल्याणकारीणी सभा मोरङको दशौंं जिल्ला अधिवेशन माघ १० गते हुने भएको छ । गत असार ८ र ९ मा भएको जिल्ला अधिवेशन विवादका कारण नेतृत्व चयन नगरि स्थगित भएको थियो ।

निर्वाचन अधिकृत पुनिललाल चौधरीले निश्पक्ष रुपमा निर्वाचन गराउन नसकेको भन्दै अध्यक्षका प्रत्यासी प्रदिपकुमार विश्वास समूहले बहिस्कार गरेको थियो । गत पुस १० गते थारु कल्याणकारीणी सभा केन्द्रीय समितिले सौहाद्र्धपूर्ण रुपमा निर्वाचन गराउन जयराम पंजियारलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएपछि मतदानको वातावरण भएको विश्वास समूहले जनाएको छ । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै प्रदिपकुमार विश्वास समूहले निर्वाचन अधिकृत पंजियारको अध्यक्षतामा बसेको बैठकले माघ १० गते मतदानको मिति तय गरेको र दुवै समूहले सहमति जनाएको बताईएको छ । दुवै पक्ष मतदानमा जाने सहमति विपरित अध्यक्षका प्रत्यासी प्रदिपकुमार भगतले संस्थाको लेटरप्याड प्रयोग गरि भ्रमपूर्ण सूचना जारी गरेकोमा आपत्ति जनाएको छ ।

भगतले अध्यक्षका प्रत्यासी विश्वास अध्यक्षको उम्मेदवार हुन योग्य नभएको र थारु कल्याणकारीणी सभा मोरङसँग कुनै समन्वय नगरी निर्वाचित मिति घोषणा भएको भन्दै आपत्ती जनाउनु भएको छ । विश्वास समूहले भगत तेश्रो कार्यकालका लागि अध्यक्ष हुन चाहेको र त्यो संभव नहुने भएपछि भ्रम फैलाउदै हिँडेको आरोप लगाएको छ ।

निर्वाचन अधिकृत पंजियारले माघ १० गते विहान ११ बजेदेखि दिउँसो ४ वजे सम्म मतदान हुनेगरि माघ ४ गते सूचना प्रकाशित गरिएको बताउनुभयो । उहाँ अनुसार विराटनगर ३ मा रहेको थारु कल्याणकारीणी सभाको भवनमा मतदान कार्यक्रम तय गरिएको छ । निर्वाचनमा २७० मतदाता रहेका छन् । उनीहरु मोरङका १२ वटा स्थानीय तहबाट छनौट भएर आएका हुन ।