कोशीको सभामुखमा राप्रपाका विष्ट निर्विरोध निर्वाचित

विराटनगर २४ पुस । कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अम्बरबहादुर विष्ट सर्वसम्मत चयन हुनु भएको छ । आज बसेको प्रदेशसभा बैठकमा उपसभामुख सिर्जना दनुवारले विष्ट सर्वसम्मत सभामुखमा चयन भएको घोषणा गर्नुभयो ।

तत्कालीन सभामुख बाबुराम गौतमले गत साउन १६ गते राजीनामा गरेपछि कोशी प्रदेशको सभामुख पद रिक्त थियो । प्रदेशसभा सचिवालयले मंगलबार संविधानको धारा १८२ तथा कोशी प्रदेशसभा नियमावली २०७४ को नियम ७ बमोजिम कोशी प्रदेशसभाको सभामुख पदको निर्वाचनको कार्यतालिका सार्वजनीक गरेको थियो । सभामुख पदका लागि विष्टको मात्र उम्मेदवारी दर्ता भएपछि उहाँ सर्वसम्मत हुनु भएको हो । प्रदेशसभा बैठकमा राप्रपा संसदीय दलका नेता तथा प्रस्तावक भक्तिप्रसाद सिटौला तथा समर्थक प्रेमराज थाम्सुहाङले विष्टको एकल उम्मेदवारी परेको भन्दै निर्वाचित गर्न प्रस्ताव पेस गर्नुभएको थियो । सो प्रस्ताव एकल रहेको भन्दै उपसभामुख दनुवारले विष्ट निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको थियो । विष्टलाई सत्ता गठबन्धनसहित प्रतिपक्ष एमाले संसदीय दलले पनि समर्थन गरेपछि उनी निर्विरोध चयन हुनु भएको हो । झापा गौरादहका ७० वर्षीय विष्ट समानुपातिक तर्फका प्रदेशसभा सदस्य हुनुहुन्छ ।

विष्टले मंगलबार नै प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनियताको शपथ लिनुभएको छ । यसअघिका माओवादी केन्द्रबाट चुनिएका सभामुख गौतमले राजीनामा दिएर कांग्रेसका उद्धव थापा नेतृत्वमा गठन भएको सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए । थापा नेतृत्वको सरकारलाई सर्वाेच्च अदालतले मान्यता नदिएपछि अहिले कोशीमा एमालेको सहयोगमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार कांग्रेसकै केदार कार्कीको नेतृत्वमा सरकार छ ।

प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका चार र जसपाका एक सांसद छन् । विष्ट विद्यार्थीकालमा २०२७ सालमा अनेरास्ववियूमा आबद्ध थिए । उनी २०३२ सालदेखि पञ्चायतको समर्थक बनेको राजनीतिक पृष्ठभूमि छ ।

०३३ सालमा झापाको जुरोपानी गाउँ पञ्चायत वडा ५ का अध्यक्षमा निर्वाचित विष्ट त्यसपछि उपप्रधानपञ्च हुँदै एक दशकसम्म जिल्ला पञ्चायतको उपसभापति रहेका थिए । उनी बहुदलीय व्यवस्था स्थापना भएपछि राप्रपामा सक्रिय रहँदै सहरी विकास बोर्डको सदस्यसचिवमा नियुक्त हुनु भएको थियो ।