विराटनगर १५ पुस । नेपाल ट्रेड यूनियन काँग्रेसले श्रमिक आन्दोलनमा लामो समय योगदान पुराएका तीन जनालाई राष्ट्रिय सभा उम्मेदवारका रुपमा सिफारिस गरेको छ ।
ट्रेड यूनियनका महासचिव अजयकुमार राईका अनुसार राष्ट्रिय सभामा श्रमिक वर्गको प्रतिनिधित्व गराउनका लागि काँग्रेस सभापति शेरबहादुर देउवासमक्ष उम्मेवार सिफारिस गरिएको जानकारी दिनुभयो । नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व नभएको हुदाँ आउँदो राष्ट्रिय सभा सदस्य निर्वाचनमा श्रमिकको पक्षमा प्रतिनिधित्व हुने गरि लक्ष्मणबहादुर बस्नेत, खिलानाथ दाहाल र पुष्कर आचार्यको नाम सिफारिस गरिएको महासचिव राईले जानकारी दिनुभयो ।
बस्नेत २०४७ सालदेखि निरन्तर श्रमिकको पक्षमा २०७० सालसम्म ट्रेड यूनियन काँग्रेसको नेतृत्वमा रहनु भएको थियो । हाल उहाँ सार्कटुकका महासचिव रहनु भएको छ । त्यसैगरि, दाहाल ट्रेड यूनियनका पूर्व अध्यक्ष हुनुहुन्छ । ट्रेड यूनियनका निवर्तमान अध्यक्ष आचार्य भने २०७५ सालदेखि ट्रेड यूनियन अध्यक्षको जिम्मेवारीमा रहनु भएको थियो ।
राजनीतिक दलहरुले श्रमिक पक्षलाई कम महत्व दिने हुदाँ माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा श्रमिकको प्रतिनिधित्व हुने गरि निर्णय गर्न पार्टी सभापति शेरबहादुर देउवासमक्ष जानकारी गराएको बताउनुभयो ।