विराटनगर २७ मंसिर । शिक्षादीप कलेज विराटनगरमा आजदेखि ६ दिने विज्ञान कार्यशाला शुरु भएको छ । विद्यार्थीले निर्माण गरेको रकेट उडाएर कार्यशालाको शुभारम्भ गरिएको हो ।
कार्याशाला शुभारम्भ कार्यक्रममा शिक्षादीप कलेज विराटनगरको अग्रणी संस्था भएको प्रिन्सीपल ज्ञानबहादुर खड्काले दावी गर्नुभयो । उहाँले भन्नुभयो,‘ हामी अग्रणी संस्था हो , हामीले गरेपछि अरूले गरून भन्ने हामी चाहन्छौ ।’ कोशी प्रदेशमा विगत ४ वर्ष देखि शिक्षादीप कलेज उत्कृष्ट हुँदै आएको उहाँले बताउनुभयो । ६ दिनको कार्यशालाबाट विद्यार्थीले धेरै कुराको ज्ञान हासिल गर्ने खड्काको भनाई ।
ऋषिक ईन्नोभेसन काठमाण्डौंसँगको प्राविधिक सहयोगमा कलेजले शुरु गरेको कार्यशालामा कक्षा ११ र १२ का ३० जना विद्यार्थीलाई प्रशिक्षक प्रशिक्षण दिईने कलेजका सञ्चालक तथा जीव विज्ञानका विभागिय प्रमुख रामचन्द्र अधिकारीले जानकारी दिनुभयो । कार्यशालाबाट विद्यार्थीले विभिन्न आयामहरूमा ज्ञान हाँसिल गर्ने उहाँले बताउनुभयो । प्रशिक्षक प्रशिक्षण तालिम पछि विद्यार्थीले कलेका अन्य विद्यार्थीलाई सहजीकरण गर्ने अधिकारीले बताउनुभयो ।
विज्ञान कार्याशालाको उद्घाटन गर्दै विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले काठमाण्डौं पछि विराटनगर शैक्षिक हव बनेको बताउनुभयो । विराटनगरमा शिक्षा क्षेत्रले ठुलो फड्को मारेको बताउनुभयो । शिक्षा क्षेत्रमा विराटनगरले गरेको लगानीले कोशी प्रदेश मात्रै नभएर मधेश प्रदेशलाई पनि आकर्षित गरेको प्रमुख कोइरालाले बताउनुभयो । ६ दिनको विज्ञान कार्यशालाले विद्यार्थीको सिकाइमा थप ज्ञान हासिल हुने अपेक्षा गरेको उहाँले बताउनुभयो ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले कार्यशालामा सवै संकायका विद्यार्थीलाई सामेल गराउने गरिको गर्न सुझाव दिनुभयो । उहाँले सवै विद्यार्थीलाई राखेर कार्यशाला, यसको आयोजना कसरी गरिन्छ भनेर बुझाउन आवस्यक रहेकोमा जोड दिनुभयो । विद्यार्थीलाई कार्यशालाबारे बुझाउन सकेमा विद्यार्थी आफै कार्यशालामा लाग्ने उहाँले बताउनुभयो । उपकुलपति कोइरालाले भन्नुभयो,‘ शिक्षादीपका विद्यार्थी हौ र केही गर्छौ भन्ने अठोट राख्न विद्यार्थीलाई आग्रह छ ।’ कलेजका अध्यक्ष तथा कोशी प्रदेशका सांसद भीम पराजुलीले अहिलेको पुस्ता खोजमुलक भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ अहिलेको पुस्ता कहिले सिक्दापनि नथाक्ने हो ।’