विराटनगर १४ कात्तिक । कोशी प्रदेशका ७ लाख ८६ हजार परिवार कृषि पेशामा रहेका छन् ।
राष्ट्रिय कृषिगणना २०७८ को कोशी प्रदेशस्तरीय नतिजा आज विराटनगरमा सार्वजनिक गर्दै सो जानकारी दिईएको हो । कोशी प्रदेशमा ७ लाख ८६ हजार १०८ कृषक परिवारले ५ लाख ३२ हजार ९३७ हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय जनगणना २०७८ अनुसार कोशी प्रदेशको कुल परिवार संख्या ११ लाख ९१ हजार ५५६ रहेको छ । ४ लाख ५ हजार बढी घरपरिवार गैरकृषि क्षेत्रमा देखिएको छ । कोशी प्रदेशमा ६६ प्रतिशत कृषक परिवार रहेको कृषि गणनाले देखाएको छ ।
कोशी प्रदेशको कित्ता संख्या १७ लाख १९ हजार ६९२ रहेको र प्रति कृषक परिवार कित्ता संख्या २.२ रहेको प्रतिवेदनमा उल्लेख छ । कोशी प्रदेशमा धानको २ लाख ७९ हजार ३८९ हेक्टर, मकैको १ लाख ७९ हजार ९१७ हेक्टर र गहूँको क्षेत्रफल ४६ हजार ४६८ हेक्टर देखिएको छ । कृषिगणना २०६८ अनुसार नेपालमा मुख्य कृषकमा ८१ प्रतिशत पुरुष र १९ प्रतिशत महिला रहेका थिए ।
कृषिगणना २०७८ अनुसार मुख्य कृषकमा पुरुषको हिस्सा घटेर ६७.६ प्रतिशत र महिलाको हिस्सा बढेर ३२.४ हुन पुगेको देखिएको छ । कोशी प्रदेशमा मुख्य कृषकमा पुरुष र महिलाको प्रतिशत कमशः ६९.८ र ३०.२ रहेको देखिएको छ । कृषि गणनाले नेपालमा ७०.४ प्रतिशत कृषक परिवारको आम्दानीको मुख्य श्रोत कृषिकार्य रहेको देखाएको छ ।
अघिल्लो कृषिगणनाले यो प्रतिशत ८३.१ देखाएको थियो । वि.सं. २०१८ सालदेखि हरेक दश–दश वर्षमा कृषिगणना गर्दै आएको राष्ट्रिय तथ्याङ्क कार्यालय ले २०७८ चैत्र १ गते देखि ७७ वटै जिल्लामा कृषिगणना कार्यालय स्थापना गरी २०७९ वैशाख ६ देखि जेठ १९ सम्म सातौं राष्ट्रिय कृषिगणनाको स्थलगत तथ्याङ्क सङ्कलन कार्य गरेको थियो ।
विगतमा का कृषिगणना जिल्लास्तर सम्मका कृषि तथ्याङ्क मात्र प्रकाशन हुँदै आएकोमा यसपटक ७५३ वटै पालिकासम्मका कृषि तथ्याङ्क सङ्कलन गरी प्रकाशन गरिएको छ ।
वैज्ञानिक विधिबाट तीन लाख ३० हजार एक सय १२ कृषक परिवारहरु छनौट गरी कृषक परिवार प्रश्नावली मार्फत कृषि तथा पशुपन्छीसम्वन्धी विस्तृत विवरण संकलनका लागि पाँच हजार एक सय ५० गणक, एक हजार तीन सय ५० सुपरिवेक्षक तथा ७७ कृषिगणना अधिकृतहरु सहित करिव सात हजार दुई सय कर्मचारी प्रत्यक्षमा परिचालित भएको राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी तोयम रायाले जानकारी दिनुभयो ।