विराटनगर १८ असोज । नेकपा एमाले कोशी प्रदेश अध्यक्षका प्रत्यासी विनोद ढकालले आफ्नो पक्षमा सर्मथन जनाउने नेता, कार्यकर्तालाई विभेद नगर्न चेतावनी दिनुभएको छ । प्रदेश अधिवेशनमा नेतृत्वको घेराबन्दी र त्रासलाई चिर्दै मतदानमा संलग्न हुने नेता कार्यकर्तालाई भेदभाव वा आग्रह नराखी पार्टीको जिम्मेवारी दिन उहाँले आग्रह गर्नु भएको छ ।
एमाले मोरङको पार्टी कार्यालय पाञ्चालीमा पत्रकार सम्मेलन गर्दै एमाले नेता ढकालले सो कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो,‘ प्रदेश अधिवेशनमा मेरो पक्षमा लागेर समर्थन जनाएको आधारमै भेदभाव गरिए उहाँहरुको संरक्षणका लागि नैतिक रुपमा आवाज उठाउने छु ।’ प्रदेश अध्यक्षमा पराजित गर्नका लागि पार्टीको मुल सिद्धान्त र पार्टीको भावना विपरित केन्द्रीय नेताहरुले घेराबन्दी गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ अमुक उम्मेदवारको पक्षमा लागेर कार्यकर्तालाई डर, त्रासमा पारेर भोट माग्ने र अर्को उम्मेदवारलाई तिरस्कार गरेको व्यवहार खुल्लमखुल्ला देखियो ।’
पार्टीका स्थायी कमिटी सदस्य र पोलिट व्युरो सदस्यहरुले खुलेआम रुपमा अमुक उम्मेदवारको पक्षमा भोट माग्ने र अर्को उम्मेदवारलाई घेराबन्दीमा पार्ने काम गरिएको नेता ढकालको भनाई छ । उहाँले भन्नुभयो,‘ पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम जोडेर मेरा विरुद्ध प्रचारवाजी भयो ।’ पार्टी अध्यक्ष जस्तो संस्थालाई विवादमा पार्ने काम भएको उहाँले बताउनुभयो ।
नेता ढकालले आफूलाई हराउन प्रदेशको सत्ता प्रयोग गरिएको बताउनुभयो ।
निर्वाचनको नतिजालाई स्वीकार गरेको बताउँदै उहाँले आफू पार्टीको मुल नेतृत्वको स्प्रिटमा नै रहेको बताउनुभयो । नयाँ कार्यसमितिलाई आफ्नो तर्फबाट बधाई दिँदै ढकालले सकारात्मक हिसाबले कार्यसमितिलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । शपथ ग्रहण कार्यक्रममा आफूलाई प्रत्यासीको रुपमा बोल्नसमेत नदिएकाले नयाँ कार्यसमितिलाई बधाई दिन र आफ्नो धारणा व्यक्त गर्न पत्रकार सम्मेलन गरेको उहाँले प्रस्टिकरण दिनुभयो ।
विराटनगर सम्पन्न प्रथम अधिवेशनमा नेता ढकाललाई पराजित गर्दै घनस्याम खतिवडा अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।