कोशी प्रदेश सरकार गठनविरूद्धको मुद्दामा आज पनि सुनुवाई भएन

विराटनगर २६ असार । सर्वाेच्च अदालतमा रहेको कोशी प्रदेश सरकार गठनविरूद्धको मुद्दा आज पनि हेर्न नभ्याइनेमा परेको छ ।

आज सर्वाेच्चका न्यायाधीश शुष्मालता माथेमाको इजलासमा रहेको मुद्दा हेर्न नभ्याइनेमा परेको हो । आइतबार सो रिट न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेशी तोकिएकोमा समयअभावका कारण हेर्न नभ्याइने परेको थियो । दोस्रो दिन न्यायाधीश माथेमाको इजलालसमा २४ औं नम्बरमा रहेको रिट फेरि हेर्न नभ्याइनेमा परेको हो ।

न्यायाधीश माथेमाले १० वटा मात्र मुद्दा हेरेकी थिइन् । खाजा समयपछि उनले कुनैपनि मुद्दा नहेरेकोले त्यसपछिका सबै मुद्दा हेर्न नभ्याइनेमा परेको हो । कोशीमा गत बिहीबार कांग्रेस संसदीय दलका नेता उद्वव थापाले मुख्यमन्त्री दाबी गर्दा सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुख्यमन्त्री बनाउन सभामुखले हस्ताक्षर गर्नु संविधानविपरीत रहेको भन्दै शुक्रबार सर्वाेच्चमा रिट दर्ता गरेको थियो । रिटमा एमालेले प्रदेश सरकार गठन रद्द गरी आफ्नो दलको नेतृत्वमा सरकार बनाउन परमादेश माग गरेको छ ।